१२ मंसिर २०८१, बुधबार

बिहीबारदेखि बाढीपहिरोको जोखिमः सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  7 July, 2020 4:28 pm


काठमाडाैं, २३ असार । 

आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बताइएको छ ।
तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !