३ आश्विन २०८१, बिहिबार

असार २५ गतेदेखि २८ गतेसम्म यो वर्षकै भिषण वर्षा हुनसक्ने, सतर्क रहन सरकारको आग्रह

प्रकाशित मिति :  8 July, 2020 6:44 pm


काठमाडौं, २४ असार ।

सरकारले असार २५ गतेदेखि   २८ गतेसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा भिषण वर्षा हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपदजोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै उक्त क्षेत्रमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको जानकारी गराएको छ ।

प्राधिकरणले भनेको छ,‘ उसै पनि यो वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेको सन्दर्भमा यो भारी वर्षा बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको छ । पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीनालामा बाढी आउने सम्भावना छ । लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो पनि जान सक्छ। यसबारे चनाखो रहन पनि आग्रह गर्दछौं ।’

यो भारी वर्षाबाट हुनसक्ने सम्भावित जोखिम समेतलाई आंकलन गरी यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ तयार पारिएको जानकारी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले सम्बन्धित निकायपनि तयारी अवस्थामा रहन र सर्वसाधारणहरु उच्च सतर्क एवं सुरक्षित अवस्थामा रहन भनेको छ ।

प्राधिकरणको कार्यकारी प्रमुख अनिल पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘विपद्का क्षमा संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु, विकास साझेदारहरु, सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवम् सम्बद्ध निकाय लगायत विपद् व्यवस्थापनमा खटिने निकायहरु र सर्वसाधारणहरु उच्च सतर्क एवं सुरक्षित अवस्थामा रहन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हार्दिक अनुरोध गर्दछ ।’

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

खासगरि १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन प्राधिकरणले विषेश आग्रह गरेको छ । प्राधिकरणले तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना भएकाले बेलैमा सचेत रहन भनेको छ ।

यी चार प्रदेशका अलावा लुम्बिनी, कर्णाली र सुद्र पश्चिम प्रदेशका बासिन्दाले पनि सतर्क रहन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘ त्यसैले आफ्नो गाउँ, टोल, बस्ती आसपासका खोला नदीको वहावबारे जानकारी लिदै गर्नुहुन अनुरोध छ ।’

ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं. ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसचालन केन्द्रको टोल फ्रि नं. ११४९ मा २४ घण्टा सेवा उपलब्ध हुने छ ।

मोबाइलमा आउने एस.एम.एस.मा विशेष ध्यान दिन प्राधिकरणले भनेको छ । बाढी, पहिरो. डुवानबारे रेडियो, टेलिभिजनमा आउने सूचना ध्यान दिएर सुन्न पनि प्राधिकरणले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !