४ आश्विन २०८१, शुक्रबार

भारतीय गुप्तचर प्रमुखहरु नेपालमा,विभिन्न तहका नेतासँग छलफल गरिरहेको भारतीय मिडियाको दाबी

प्रकाशित मिति :  9 July, 2020 12:09 pm


काठमाडौं, २५ असार।

नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको संकट गहिरिएका बेला भारतीय खुफिया एजेन्सीका प्रमुखहरु काठमाडौंमा कृयाशील रहेको भारतीय मिडियाले दाबी गरेका छन् ।

भारतको पत्रिका ‘द पायोनियर’ले नेपालका प्रधानमन्त्री केपी के.पी.शर्मा ओलीको भविष्य निर्धारण गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको शक्तिशाली स्थायी समितिको महत्वपूर्ण बैठक अगाडि सुरक्षा र खुफिया एजेन्सीका वरिष्ठ अधिकारीहरू काठमाडौंमा डेरा जमाएर बसेको समाचार लेखेको छ ।

‘र’ का प्रमुख सामन्त कुमार गोयल, र इन्टेलिजेन्स ब्यूरोका प्रमुख अरविन्द कुमारसहितका अधिकारीहरु राजनीतिक दलका नेताहरुसँग भेटघाटमा व्यवस्थ रहेको  ‘द पायोनियर’को अनलाईन संस्करण डेलीपायेनियर डट.कम.ले समाचारमा उल्लेख छ ।

समाचारमा भनिएको छ,‘ नेपालका नेतासँग गोयल र कुमारले नेपालको मानचित्रमा लिपुलेख, कालापानी तथा लिम्यिाधुरा क्षेत्र समावेश गरेपछिको टकराव र त्यसले निम्त्याउने क्षतिको नियन्त्रण अभ्यास गरिरहेका छन् ।’

सुत्रलाई उदृढ गर्दै पायोनियरले खुफिया एजेन्सीका प्रमुखहरुले गरेको कुराकानीको निगरानी सीधै राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभालले गरिरहेको उल्लेख गरेको छ ।

समाचारमा उल्लेख भए अनुसार अहिलेसम्म खुफिया एजेन्सीका प्रमुखहरुले हालसम्म नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा‘बादल’सँग वार्ता गरिसकेका छन् । उनीहरुले स्थायी कमिटी सदस्य वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसँग कुराकानी भईसकेको समाचारमा जनाईएको छ ।

नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा र नेताहरु डा. मिनेन्द्र रिजाल, विमलेन्द्र निधि र कृष्ण सिटौलाले पनि भारतीय खुफया एजेन्सीका शीर्ष अधिकारीसँग सम्पर्क गरेका समाचारमा उल्लेख छ ।

जनता समाजवादी पार्टीका  महन्त ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि कुराकानी भएको समाचारमा  छ ।

काठमाडौंका लागि चिनियाँ राजदूत होउ यान्छीका साथी चीनका खुफिया एजेन्सीका युरोप क्षेत्रका पूर्व गुप्तचर प्रमुखले प्रचण्ड, नेपाल र खनाललगायत धेरै नेताहरूसँग भेट गरेको पायोनियरको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !