३ आश्विन २०८१, बिहिबार

भारतीय मिडियाको शैलीप्रति राजनीतिक दलका नेताको आक्रोश, बकवास बन्द गर्न चेतावनी

प्रकाशित मिति :  9 July, 2020 2:39 pm


काठमाडौं, २५ असार । 

नेपालले आफ्नो छुटेको भूमि लिपुलेक,लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ नक्शा जारी गरेपछि भारतीय मिडियाले एक पछि अर्को गर्दै गलत तरिकाले प्रपोगाण्डा गरिरहेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर गलत प्रचार गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् र सामाजिक सञ्जालमा दुबै नेताले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भारतीय मिडियाको दृष्टिकोणको आलोचना गरेका हुन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बकवास बन्द गर्न भारतीय मिडियालाई चेतावनी दिएका छन् ।  उनले आज ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको भन्दै भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको र हद भएको बताएका छन् ।

उनले भनेका छन्,’विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’ उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

प्रवक्ता श्रेष्ठले भनेका छन्,‘हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर ।’

त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीसँग आफ्नो पार्टीको बैदेशिक सम्बन्धी लगायतका धेरै विषयमा गम्भीर असहमति भएपनि भारतीय मिडियाको धारणालाई स्वकिार गर्न नसकिने स्पष्ट पारेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्,‘हाम्रा प्रधानमन्त्री ओलीसँग वैदेशिक सम्बन्धसम्बन्धी नीतिलगायतका धेरै विषयमा गम्भीर मतभेद छन्। तर भारतका प्रधानमन्त्री ओलीमा माटो फ्याँक्ने मिडियाको केही धारणालाई स्वीकार गर्न मिल्दैन। यसले नेपाल-भारत सम्बन्धको लागि राम्रो काम गर्दैन।’

त्यस्तै पर्यटनमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य योगश भट्टराईले भारतीय मिडियाका प्रस्तुतीले पूर्वीय सभ्यताको उपहास भईरहेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय संचार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दालाग्छ पूर्वीय सभ्यताको उपहास भईरहेको छ ।’ पर्यटनमन्त्री भट्टराईले उनीहरुले आँफैलाई सरेआम नङ्ग्याइरहेको टिप्पणी गर्दै भनेका छन्,‘ दया लाग्छ उनीहरुको चिन्तनप्रति ! ’



प्रतिक्रिया दिनुहोस !