३ आश्विन २०८१, बिहिबार

नेपालविरुद्ध गलत प्रचार जारी राखेपछि भारतीय न्यूज च्यानलहरु नेपालमा बन्द

प्रकाशित मिति :  9 July, 2020 8:45 pm


काठमाडौं, २५ असार । 

नेपालविरुद्ध गलत प्रचार गर्न थालेपछि विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

भारतीय सरकारको स्वामित्वमा रहेको दूरदर्शनबाहेक सबै भारतीय न्यूज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी गराएका छन् ।

नेपालले आफ्नो भूमि लिम्पियाधुरा,लिपुलेक र कालापानी समावेश गरेर नक्शा जारी गरेदेखि नै अतिरञ्चित तरिकाले भारतीय मिडिया प्रस्तुत भईरहेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर अमर्यादित तरिकाले समाचार प्रशारण गरिएको छ ।

उपाध्यक्ष शर्माले भारतीय न्यूज च्यानलहरुले नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि वितरकहरुले सल्लाह गरेर भारतीय न्यूज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेको जानकारी गराएका छन् । केवल टी.भी.एसोसियशनले पनि भोलीदेखि भारतीय च्यानल बन्द गर्ने निर्णय गरेको छ ।

भारतीय च्यान विरुद्ध राजनीतिक र कानुनी उपचार खोज्छौं : प्रवक्ता खतिवडा

भारतीय मिडियाले सीमा नाघ्दै नेपाल,प्रधानमन्त्री ओली र सरकारविरूद्ध निरन्तर मिथ्या र आपत्तीजनक सामग्री प्रकाशनरप्रसारण गरिराखेको भन्दै यसविरूद्ध राजनीतिक र कानुनी उपाय खोज्ने स्पष्ट पारेका छन् ।

‘सञ्चार माध्यमहरूले स्वच्छ, स्वस्थ, पारदर्शी ढंगले समाचार सम्प्रेषण गरून् भन्ने हामी सबैको साझा ध्येय त्यही नै हो। चाहे स्वदेशी हुन् चाहे विदेशी हुन्,’ सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले भने,‘हामीले कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी, मानमर्यादा र प्रतिष्ठा घटाउने गरी समाचार र विश्लेषणको सरकारले भर्त्सना गर्छ।’

प्रवक्ता खतिवडाले सरकारको चाहना मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफू अनुशासनमा बसोस् र सही समाचारहरू मात्रै सम्प्रेषण गरोस् भन्ने अपेक्षा रहेको बताए ।

प्रवक्ता खतिवडाले हाम्रो राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पुर्‍याउने समाचारहरू सम्प्रेषण नगर्न हामी अनुरोध गर्दै भारतीय मिडियाको शैली विरुद्ध राजनीतिक र कानूनी दुइटै उपचार खोज्ने बताए ।

महासंघद्धारा निन्दा

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकामा नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ ।

‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूटा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

भारतीय मिडियाले अतिरञ्जित तरिकाले नेपाल विरोधी र प्रधानमन्त्रीबारे गलत प्रचार गरेपछि विभिन्न राजनीतिक दलका नेताले समेत आपत्ति जनाएका छन् ।

भारतीय मिडियाको शैलीप्रति राजनीतिक दलका नेताको आक्रोश, बकवास बन्द गर्न चेतावनी



प्रतिक्रिया दिनुहोस !