८ मंसिर २०८१, शनिबार

बाढीपहिरोको कहर : म्याग्दीमा ७ जना बेपत्ता,कास्कीमा ४ जनाको मृत्यु

प्रकाशित मिति :  10 July, 2020 8:05 am


फाईल फोटो

कास्की, २६ असार ।

म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङको रिखामा पहिरो जाँदा सात जना बेपत्ता भएका छन् ।  घण्टीवाङबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् ।

पहिरोले स्थानीय भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको वडाअध्यक्ष सुवेदीले जानकारी दिए । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । तर अझै एकीन विवरण भने आउन सकेको छैन ।

पहिरो खसेपछि माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ ।

वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए ।

कास्कीमा ४ जनाको मृत्यु

कास्कीको पोखरा-१८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किएर आएको पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ भने पुरिएका ७ जनाको उद्धार गरेर अस्पताल लगिएको छ ।

गोठादीस्थित टंक बहादुर थापाको घर बगाउदाँ जन्मदिन मनाउदै गरेका १० जना पुरिएका थिए । पहिरोमा पुरिएका ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ७ जनालाई उपचारका लागि मणीपाल अस्पताल पोखरा पठाईएको छ ।

त्यस्तै पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सराङकोट पहिरोमा पुरिनेको सङख्या बढि भएको आशंकाका प्रहरीले खोजी कार्य जारी राखेको छ ।



प्रतिक्रिया दिनुहोस !