४ आश्विन २०८१, शुक्रबार

अहिलेकै अवस्थामा यातायात सञ्चालन नगर्ने यातायात व्यवसायीको निर्णय

प्रकाशित मिति :  10 July, 2020 7:00 pm


काठमाडौं, २६ असार ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।

सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सवारी सञ्चालन गर्न दिने निर्णय गरेपनि महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने निर्णय गरेको हो ।

विगतमा आफूहरूले राखेका मागलाई बेवास्ता गर्दै व्यवसायीहरूसँग कुनै सम्वाद नै नगरी सरकारले एकपक्षीय रूपमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरेको महासङ्घद्वारा दिउँसो जारी विज्ञप्तिमा उल्लेख छ।

आज बसेको बसेको केन्द्रीय कमिटी बैठकले यातायात सञ्चालनका लागि लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लक डाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग राखेको छ । यो माग पुरा गरेपछि मात्रै यातायात सञ्चालन गर्ने महासंघको भनाई छ ।

लक डाउनको १ सय १० दिनसम्म पार्किङमा रहेका सवारी निकाल्दा सर्भिसिङमा मात्रै प्रत्यक गाडीमा ५० हजार देखि ५ लाखसम्म खर्च हुनेअवस्था भएकाले पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बिना गर्नुपर्ने पनि महासंघको भनाई छ ।

महासंघले भाडा बढाएर सवारी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएको भन्दै दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने माग गरेको छ ।

सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने र प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने सरकारले निर्णय गरेको थियो ।

कोरोना संक्रमण बढ्न थालेपछि चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको थियो । लकडाउनपछि हिजो पहिलो पटक सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !