गैंडाकोटमा बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
प्रकाशित मिति : 11 July, 2020 8:48 am
चितवन, २७ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको हो । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।