३ आश्विन २०८१, बिहिबार

रोल्पा लुंग्री गाँउपालिकाभित्र बाटो निर्माणमा भ्रष्टाचार भएको दाबी,छानविन गर्ने अध्यक्षको प्रतिबद्धता

प्रकाशित मिति :  12 July, 2020 2:23 pm


रोल्पा, २८ असार ।

रोल्पाको लुंग्री गाँउपालिका फेरि विवादमा तानिएको छ । समयमै बजेट सार्वजनिक गर्न नसकेर आलोचना खेपेको गाँउपालिको एक आयोजनामा भ्रष्टाचार भएको भन्दै स्थानीयवासीले छानविनका लागि आग्रह गरेका छन् ।

विवादकाबीच हिजो मात्रै गाँउपालिकाले बजेट ल्याएको छ । तर, बजेट सार्वजनिकसँगै भ्रष्टाचारको आरोपमा गाँउपालिका मुछिएको छ । उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक मिलेर बाटोको रकम हिनामिना गरेको आरोप लागेको हो ।

 

लुङग्री गाउँपालिकाको वडा नं. ५ मा रहेको ‘दहचौर भालुमारे तामखोला आम्बोट मोटरबाटो योजना’का अध्यक्ष विकास सुनार र गाउँपालिकाका प्राविधिक टोलीले मिलेर भ्रष्टाचार गरेको ठहर गर्दै स्थानीयवासीले छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका छन् ।

स्थानीय रेमबहादुर विष्ट, ओमबहादुर बुढाथोकी, दीपक विष्ट, बोमबहादुर के.सी., किसन विष्ट, शुक्रराज बुढाथोकी र पूर्णचन्द्र घर्तीमगरले संयुक्त हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका हुन्।

लुङ्ग्री गाउँपालिका वडा नं. ५, अन्तर्गत दहचौर भालुमारे तामखोला आम्बोट मोटरबाटो निर्माणका लागि लुङ्ग्री गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ७ लाख ५० हजार रुपैयाँ छुट्टाएको थियो ।

बाटो निर्माणका लागि लुङ्ग्री गाउँपालिका वडा नं. ५ निवासी विकास सुनारको अध्यक्षतामा उपभोक्ता समिति गठन भयो । उपभोक्ता समितिले बाटो निर्माणका लागि लुङ्ग्री गाउँपालिका वडा नं. १ निवासी शिवराम घर्तीसँग डोजर सम्झौता गरेको थियो । तर, सरोकारवाला उपभोक्ताहरुले अनुगमन गर्दा डोजरले जम्मा ५९ दशमलव ३ घण्टा मात्र काम गरेको देखिएको छ ।

गाउँपालिकाले तोकेको दररेट अनुसार ठूलो डोजरले खनेको ५ हजार रुपैयाँ प्रतिघण्टा र ब्रेकर लगाएको ६ हजार रुपैयाँ प्रतिघण्टा छ । गाउँपालिकाको यस दररेट अनुसार ५९ दशमलव ३ घण्टाको २ लाख ९६ हजार ५ सय रुपैयाँ मात्रै हुन्छ । यदि सबै ठाउँ ब्रेकर लगाएको भए पनि ३ लाख ५५ हजार ८ सय रुपैयाँ हुन्छ ।

डोजरले गरेको कामको हिसाब हेर्दा विनियोजित रकम भन्दा निकै कम काम भएको देखिएको छ । तर, उपभोक्ता समितिको अध्यक्ष र गाउँपालिकाको प्राविधिक टिमले अनुगमन गरी कार्य सम्पन्न मूल्याङ्कन गरिदिएको छ ।

निवेदनमा भनिएको छ,‘उपभोक्ता समिति अध्यक्षले बैठक पुस्तिकामा समितिका अन्य पदाधिकारीहरुलाई जानकारी नदिई किर्ते हस्ताक्षर गरी बैठकको निर्णय पेश गरी उक्त कामको रकम निकासा दिन अन्तिम तयारी गरेको छ । यसमा शतप्रतिशत अनियमितता तथा भ्रष्टाचार भएको ठहर गर्दै उक्त रकम निकासा रोक्का गरिदिनुहुन साथै सत्यतथ्य छानविन गरिदिनुहुन भनि तपसील व्यक्तिहरुको संयुक्त यो निवेदन पेश गरेका छौं ।’

आफूले जानकारी पाएपछि गाँउपालिकाले पनि छानविन सुरु गरेको अध्यक्ष दुर्गा खड्काले जानकारी दिए । उनले लुम्बिनी सञ्चारसँग भने,‘मैले पनि यो जानकारी पाए ५ नम्बर वडा अध्यक्षलाई बुझ्न भनेको छु ।’ अध्यक्ष खड्काले यसबारे छानविन हुने बताए ।



प्रतिक्रिया दिनुहोस !