मनसुन सक्रिय हुनेक्रम जारी
काठमाडौं, २८ असार ।
जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजिकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘सोमबार बेलुकाबाट उक्त प्रणाली विस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ,’ उनले भने । न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने उनले जानकारी दिए ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।