४ आश्विन २०८१, शुक्रबार

तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

प्रकाशित मिति :  13 July, 2020 8:20 am


काठमाडौं, २९ असार ।

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ । सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !