३ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको सलामी लिएको ‘भाइरल’ तस्बिर कसको हो ?

प्रकाशित मिति :  13 July, 2020 1:40 pm


काठमाडौं, २९ असार ।

पछिल्लो ३ दिनदेखि एउटा फोटो भाइरल भएको छ । फोटोमा प्रहरी हवल्दारलाई जमिनमा उभ्याइ  छाता ओढाउन लगाएर ति व्यक्तिले रातो कार्पेटवाला मञ्चमा उभिएर प्रहरीको सलामी लिएको देखिन्छ ।  फोटो भाइरल भएपछि धेरैले  नेता भएको आशंकामा टिप्पणी गरेका छन् ।

कतिपयले ’छोटे राजा’ को संज्ञा दिएका छन् भने कतियले ‘संघीयताको उपहार’ भनेका छन् । तस्बिर तिब्र भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको छ ।

समाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समेत चासो राखेका छन् । आज विहान समाजिक सञ्चाल फेसबुकमा लेखे,‘सलामी लिइरहनुभएका महोदय कुन चाहिं जिम्मेवारीमा हुनुहुन्छ ? परिचय पाउन नसकिएकोले सोधपुछ गर्न बाध्य पर्यो । चिन्ने,जान्ने र बुझ्नेले खुलाएर सहयोग गरिदिनुहुन अनुरोध छ । नाम, पद, स्थान र मितिको अपेक्षासहित !’

भाइरल भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राखेको स्टाटस र फोटो

खासमा यो सलामी लिएको फोटो ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको हो । प्रधानमन्त्री कार्यालयले चासो राखेपछि कमेन्टमा प्रमुख जिल्ला अधिकारी भट्टको नै भएको भन्दै धेरैले जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी भट्टले असार २६ गते महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण भ्रमणमा गएका थिए । यो फोटो त्यही क्रममा लिईएको हो । महानगरीय प्रहरी परिसर ललितपुरको आधिकारिक फेसबुकमा राखिएको फोटोमा सलामी लिएको फोटो छैन तर अन्य फोटो तुलना गर्दा यो प्रमुख जिल्ला अधिकारी भट्टकै फोटो प्रष्ट देखिन्छ ।

महानगरीय प्रहरी परिसर ललितपुर पुग्दा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्को स्वागत । फोटो : महानगरीय प्रहरी परिसर ललितपुरको फेसबुकबाट

महानगरीय प्रहरी परिसर ललितपुरले राखेको जानकारीमा २०७७ असार २६ गते ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण भ्रमण गर्नुका साथै मातहत कार्यालयका कार्यालय प्रमुख लगायत अन्य प्रहरी कर्मचारीहरुलाई ललितपुर जिल्लाको भरपर्दो शान्ति/सुरक्षाको व्यवस्थापन मिलाउने सम्बन्धमा आवश्यक निर्देशन दिएको उल्लेख छ ।

जानकारीमा भनिएको छ,‘ कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्र.ब.उ. टेक प्रसाद राईज्यूले ललितपुर जिल्लाको वर्तमान शान्ति सुरक्षा सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभयो ।’

समाजिक सञ्जालमा भाइरल भएको प्रमुख जिल्ला अधिकारी भट्टको सलामी ग्रहण गर्दाको फोटो

मेयर,सांसद तथा नेताहरुले सलामी लिने शैलीको आलोचना हुने गरेको छ । यो फोटोमा पनि प्रहरी हवल्दारलाई छाता ओडाएर सलामी लिएको देखिएपछि आलोचना मात्रै होईन सामाजिक सञ्जालमा भाइरल भएको छ ।



प्रतिक्रिया दिनुहोस !