४ आश्विन २०८१, शुक्रबार

रामको जन्मभूमिबारे प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयको प्रष्टिकरण

प्रकाशित मिति :  14 July, 2020 7:32 pm


काठमाडौं, असार ३० ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयले प्रष्टिकरण दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको भनाई ‘राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनालाई चोट पुर्‍याउने उद्देश्य नभएको’ उल्लेख गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०७ औं जयन्ती समारोहका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि नेपालमा भएको र भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको बताएका थिए ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘राम र उनीसँग सम्बन्धित विभिन्न मिथक छन्। प्रधानमन्त्रीले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्यहरू फेला पार्न विभिन्न साँस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई जोड दिनुभएको हो।’

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको यो टिप्पणी अयोध्याको महत्त्व र यसको सांस्कृतिक मूल्यमान्यताको बारेमा बहस गर्नु नभएको प्रष्टिकरण दिएको छ ।

परराष्ट्र मन्त्रालयले हरेक वर्ष विवाह पञ्चमीको दिन अयोध्याबाट जनकपुरमा जन्ती आउने कुराको उल्लेख गर्दै दुई वर्षअघि दुबै देशका प्रधानमन्त्रीहरूले जनकपुर—अयोध्या बस सेवाको उद्घाटन गरेको कुरा पनि स्मरण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ यी तथ्यहरूले हाम्रा दुई देशहरू र मानिसहरूबिच सम्मानजनक सांस्कृतिक सम्बन्धको समयलाई संकेत गर्दछ।’
प्रधानमन्त्री ओलीको उक्त भनाईएको नेपालभित्रै र भारतमा समेत चर्को आलोचना भएपछि परराष्ट्र मन्त्रालयको यो प्रष्टिकरण आएको हो ।



प्रतिक्रिया दिनुहोस !