४ आश्विन २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघ आन्दोलनमै रहेका बेला महासंघका प्रतिष्ठान सचिव जागिरबाट निकालिए

प्रकाशित मिति :  15 July, 2020 3:09 pm


काठमाडौं, असार ३१ ।

पत्रकारको पेशागत सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघ आन्दोलनमै भएका बेला महासंघ प्रतिष्ठानका सचिव जागिरबाट निकालिएका छन् ।

कारोबार दैनिकले नेपाल पत्रकार महासंघ कारोबार प्रष्ठिानका शाखाका सचिव विजय देवकोटालाई जागिरबाट बर्खास्तको जानकारी गराएको छ ।

देवकोटाले महासंघ केन्द्रले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै र कारोबार दैनिकमा तीन बर्षदेखिको श्रमजीवि पत्रकार तथा कर्मचारीको समस्या समाधान नभएको भन्दै महासंघ प्रतिष्ठानको तर्फबाट विज्ञप्ति जारी गरेका थिए ।

विज्ञप्ति जारी गरेलगत्तै देवकोटालाई व्यवस्थापन पक्षले स्पष्टिकरण सोधेको त्यहाँका पत्रकारहरुले बताएका छन् । दुईपटक स्पष्टिकरण सोधेर तेस्रो पटक सेवाबाट हटाएको जानकारी गराएको छ ।

कारोबार पत्रकार तथा कर्मचारी संघका संयोजक धर्मेन्द्र कर्णले कारोबार दैनिकको व्यवस्थापन पक्षको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले समाजिक सञ्जालमा पत्रकार देवकोटाई हटाउने व्यवस्थापन पक्षले निर्णय गरेको भन्दै चुप नलग्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्,‘नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको नेतृत्वमा भइरहेको आन्दोलनलाई सहयोग गरेको र सत्य बोलेकोमा कारोबार दैनिकका सचिव विजय देवकोटालाई जिम्मेवारीबाट हटाउने कारोबार व्यवस्थापकको निर्णय निन्दनीय र भत्र्सनीय छ ।’

व्यवस्थापकले देवकोटालाई जिम्मेवारीबाट निकाल्ने निर्णय फिर्ता नलिए कारोबार पत्रकार तथा कर्मचारी संघले अहिलेसम्म अपनाएको संयम तोड्ने संयोजक कर्णले चेतावनी दिएका छन् । उनले भनेका छन्,‘किन्तु परन्तुलाई बिर्सेर सहकर्मी देवकोटाको पदबहालीका लागि हुने आन्दोलनमा सहभागी हुन सबै कारोबारकर्मी लगायत पेशागत सहकर्मी संघसंस्थाका सदस्यहरूलाई आग्रह गर्दछु । व्यवस्थापकलाई आफैले बनाएको विधि प्रक्रिया अनुरुप चल्न आग्रह गर्दछु ।’

कारोनाले समस्या परेको भन्दै मिडिया हाउसहरुले पत्रकार तथा कर्मचारीहरुलाई निकाल्दै आएका छन् । यसका विरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आन्दोलन जारी राखेको छ ।



प्रतिक्रिया दिनुहोस !