दुग्ध विकास संस्थानको एक अर्ब रुपैयाँ ‘क्यापिटल ब्लक’,जापान र खाडी लगायतका मुलुकमा घिउ निर्यात सुरु
काठमाडौं, साउन १ ।
दुग्ध विकास संस्थानले लकडाउनको अवधिमा आफ्नो एक अर्ब रुपैयाँ ‘क्यापिटल ब्लक’ भएको जनाएको छ ।
संस्थानले धुलो दूध र मख्खनको अत्यधिक मौज्दात भएकाले झण्डै १ अर्ब रुपैयाँ बराबरको पूँजी ब्लक भएको जनाएको छ । पूँजी ब्लक भएकाले कृषकको भुक्तानी दिन समस्या भएको महाप्रवन्धक रुद्र प्रसाद पौडेलले बताए ।
दुग्ध विकास संस्थानको ५३ औं वार्षीक उत्सवको अवसरमा आज कृषि मन्त्रालयमा भएको कार्यक्रममा दुग्ध विकास बोर्डका महाप्रवन्धक पौडेलले लकडाउनको अवधिमा संस्थानको दैनिक बिक्री राजश्वमा ३० लाख रुपैयाँले कमी समेत आएको जानकारी दिए ।
उनले २०७६ चैतदेखि २०७७ जेठसम्मको अवधिमा कच्च दूधको संकलत गत आर्थिक वर्षको सोही अवधीभन्दा १५ प्रतिशतले बढेको बताए । तर बजार खपत भने गत आर्थिक वर्षको सोही अविधिमा प्रशोधित दूधको बजार झण्डै २० प्रतिशत तथा दुग्ध पदार्थको हकमा करिब ४० प्रतिशतले घटेको उल्लेख गरे ।
मौज्दात बढेपछि संस्थानले याक चिजमा बिक्रेता तथा उपभोक्ता छुट लागु गरेपछि ३५ हजार केजी बिक्री भएकाले हाल १२ हजार किलो मौज्दात रहेको महाप्रवन्धक पौडेलले जानकारी दिए ।
त्यस्तै संस्थानले धुलो दूध एसएमपी र होल मिल्क पाउडरमा विक्रेता छुट लागु गरेको छ भने खुल्ला मख्खन तथा घिउको बिक्री प्रवद्र्धनका लागि विक्रेता इन्सेन्टिभ व्यवस्था लागु गरिएको जनाएको छ ।
पछिल्लो समय जापान लगायत खाडी देशमा घिउ निर्यात शुरु भएको र प्रशोधित दूध लगायत अन्य दुग्ध पदार्थहरुको बजार बिक्रीमा सुधार देखिएको महाप्रवन्धक पौडेलको भनाई छ ।
लकडाउनको अवधिमा जेठ मसान्तमा एसएमपी ८५० मेट्रिक टन र मख्खन ६ सय मेट्रिक टन मौज्दात रहेको जानकारी गराउँदै महाप्रबन्धक पौडेलले ३७ लाख लिटर दूधको कन्भर्सन भई संस्थानलाई थप व्ययभार बढेको बताए ।
उनले भ्रमण वर्ष नेपाल २०२० लक्षित याकचिज उत्पादन अनुसार बिक्री हुन नसकेको उनको भनाई थियो ।