४ आश्विन २०८१, शुक्रबार

सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच गोली हानाहान, दुई जना घाइते

प्रकाशित मिति :  17 July, 2020 7:58 am


सुनसरी, साउन २ ।

सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।

घटनामा दुई जना तस्कर घाइते भएका र अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए ।

तस्करबाट एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !