३ आश्विन २०८१, बिहिबार

भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा परेपछि तत्काल सहसचिव स्तरीय वार्ता गर्न उर्जामन्त्री पुनको निर्देशन

प्रकाशित मिति :  17 July, 2020 7:26 pm


काठमाडौं, साउन २ । 

सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेपछि नेपालले भारतीय पक्षसँग वार्ता गर्ने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी वार्ता गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआइएफएम) को बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिएका छन् ।

दुवै देशका सह–सचिव रहने उक्त समितिको नेतृत्व नेपालकातर्फबाट सिंचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले गर्नेछन् । ‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ’, मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक डाक्नुस् ।’

मन्त्री पुनले वर्षातको समयमा बाढी पहिरोको उच्चजोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् । ‘बाढी, पहिरो र डुबानका कारण मानवीय र अरु क्षति नहोओस् भन्नेमा सचेत भएर काम गर्नुस्’, उनले भने, ‘यदि अकल्पनीय अवस्था आएमा जनशक्ति र साधनश्रोतको कमी नहोओस् ।’

उनले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले साधानश्रोतको कुनै कमी हुन नदिने स्पष्ट गर्दै आपतकालीन अवस्थामा मन्त्रिपरिषदबाट निर्णय गरेर भएपनि उद्दार तथा प्रकोप रोकथाममा लाग्न कर्मचारीलाई आग्रह गरे ।

यस्तै बाढी पहिरोको अवस्थाबारे जिल्लास्थित मन्त्रालय अन्तर्गतका निकायहरुबाट सूचना संकलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि उनको निर्देशन छ । नियमित कार्यतालिका अनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिंचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिए ।

‘नियमित बैठक नोभेम्बरमा बस्ने हो’, श्रेष्ठले भने, ‘मन्त्रीज्यूबाट निर्देशन भएअनुसार हामी तत्काल वार्ताकालागि भारतीय पक्षलाई खबर गछौं ।’

सचिव श्रेष्ठले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको बताएका छन् । छलफलमा सचिव श्रेष्ठ, विभागका महानिर्देशक राजभण्डारी, उप–महानिर्देशक प्रदीप थापालगायतले बाढी, पहिरो र डुबानको अवस्थाबारे मन्त्री पुनलाई जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !