३ आश्विन २०८१, बिहिबार

लामो समयदेखि नक्कली मेजरलाई प्रहरीको सलाम र ‘चिया’ स्वागत ! मेयर समेत झुक्किए

प्रकाशित मिति :  18 July, 2020 1:08 pm


नेपाली सेनाको नक्कली मेजर भएको खुलेपछि पक्राउ परेका सुरेश विष्ट

काठमाडौं, साउन ३ ।  

महानगरीय प्रहरी वृत्त चापागाउँ,ललितपुरमा एकजना नेपाली सेनाका मेजर आउजाउ गर्थे ।

वृत्त प्रमुखसँग चिया खान्थे अनि फर्कन्थे ।  वृत्त प्रमुख भएर जाने डीएसपीसँग उनको राम्रो सम्बन्ध हुन्थ्यो । उनी कहिलेकाही विहान पुगेर चिया खान्थे र कहिले बेलुकी पुगेर ‘चिया’ खान्थे । आफू सिंहदरबारमा कार्यरत रहेको बताउथे ।

उनको बडो अनौठो शैली थियो । डीएसपीलाई सलाम गर्थे तर बाँकी प्रहरीलाई तथानाम भन्थे । जाँड लागेको वा खाएको बेला प्रहरीमाथी निरन्तर दुव्र्यवहार गर्थे ।

हिजो पनि त्यो क्रम दाहोरियो । जाँड खाएका मेजर युनिफर्ममै वृत्तमा थिए । उनले प्रहरीमाथी तथानाम गर्न थाले ।

प्रहरीहरुलाई  गाली र दुव्र्यवहार गर्न सुरु गरे । वृत्तका डीएसपी कृष्णराज ओझाले सुरुमा उनलाई सम्झाए । तर मेजरले दुव्र्यवहार गर्न छोडेनन् ।

हैरान भएपछि उनलाई नियन्त्रणमा राखेर डीएसपी आझाले सैनिक मुख्यालयबाट सैनिक प्रहरीलाई बोलाए । डीएसपी ओझाले लुम्बिनी सञ्चारसँग भने,‘हिजो अलि बढी नै गर्यो र हतकडी लगाएर राखें, आर्मीलाई बुझाउनु परो भनेर । सैनिक प्रहरी बोलाए ।’

डीएसपी ओझा र त्यहाँ कार्यरत प्रहरीहरु त्यति बेला छक्क परे जब भद्रकालीबाट गएको सैनिक प्रहरीले उक्त नामको कुनै मेजर नभएको जानकारी गराए । अर्थात  लामो समयदेखि महानगरीय प्रहरी वृत्त चापागाउँमा प्रहरीको सलाम र चिया खाँदै आएका ति व्यक्ति नक्कली मेजर रहेछन् ।

डीएसपी ओझाले भने,‘फटाहा छ, एक बर्ष काम गरेर बर्खास्तमा परेको रहेछ ।’

बर्खास्तिमा परेपछि नक्कली मेजरको धन्दा

नक्कली मेजर बनेर हिड्ने व्यक्ति हुन्, ललितपुर गोदावरीका सुरेश विष्ट । प्रारम्भिक अनुसन्धानमा विष्ट २०६२/६३ मै एक वर्ष जागिर खाएर सिपाहीबाट बर्खास्तिमा परेको खुलेको छ । बर्खास्तिमा परेपछि विष्ट मेजरको युनिफर्ममा देखिन थाले ।

डीएसपी ओझाले भने,‘ म आउनुभन्दा पहिलेदेखि नै फूली लगाएर युनिफर्ममै हिड्ने, घर आउने जाने, यहाँ(वृत्त)पनि आउने प्रहरीबाट सलाम खाने, जाँड खाएर आउने युनिफर्ममै अनि हप्काउने गथ्र्यो । घरमा पनि युनिफर्ममा आउने, यहाँ वरीपरिपनि सदावहार युनिफर्ममा हिड्ने   रहेछ । प्रहरी कार्यालयमा पनि युनिफर्ममै आउने गथ्र्यो ।’

विष्टले लगाएको युनिफर्म

युनिफर्ममै आउने भएपछि प्रहरीले पनि शंका गरेन । महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी प्रमुखहरु झुक्किए । डीएसपी ओझाले भने,‘यसभन्दा पहिलेपनि यो आउने गरेको रहेछ,यसअघि पनि यस्तै गतिविधि गर्दोरहेछ ।’

प्रहरी स्रोतका अनुसार विष्टसँग वृत्तका प्रमुख भएर जाने डिएसपीसँग राम्रो हिमचिम हुन्थ्यो । बेला बेला वृत्तमा पुग्ने उनले राम्रो मेजमानी पाउदै आएका थिए ।  तर यसअघिका वृत्त प्रमुखले विष्ट नक्कली मेजर भन्ने सुईको पाएनन् ।  वृत्तमा काम गर्ने डीएसपीबाहेकका दर्जाका प्रहरी आजित बनेका थिए ।

कतिसम्म भने मेयर समेत झुक्किएका रहेछन् । डीएसपी ओझाले भने,‘ यो खबर पाएपछि गोदावरी नगरपालिकाका मेयरसाप समेत छक्क पर्नुभएको छ । उहाँसँग युनिफमर्म बसेर चिया खाने भेट्ने गरेको रहेछ ।’ प्रहरीले विष्टको बारेमा सम्पूर्ण विवरण पठाईदिन सैनिक मुख्यालयलाई भनेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले नक्कली मेजर बनेर ठगेको आरोपमा विष्टमाथी थप अनुसन्धान भईरहेको जानकारी दिए । उनले भने,‘यसले अन्त पनि ठगि गरेको छ कि भनेर अनुसन्धान भईरहेको छ । नक्कली मेजर बनेर कम्तिमा पनि १० वर्षदेखि युनिफर्ममा हिडेको देखिन्छ ।’

सैन्य तालिम प्राप्त गरेको र सबै आचरण उस्तै भएकालेपनि यसअघि प्रहरी झुक्किएको हुनसक्ने प्रमुख राईको भनाई छ । विष्टमाथी थप अनुसन्धान गरेर प्रहरीमाथी अभद्र व्यवहार गरेको र ठगीसम्बन्धी मुद्धा चलाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !