४ आश्विन २०८१, शुक्रबार

भारतमा काेराेना विरूद्धकाे खाेप परीक्षण सुरूः दश हजारले दिए आवेदन, १२ अस्पतालमा परीक्षण

प्रकाशित मिति :  20 July, 2020 2:51 pm


नयाँ दिल्ली, साउन ५ । 

भारतमा पहिलाे पटक काेराेना भाइरस विरूद्धकाे खाेप परीक्षण  सुरू भएकाे छ । साेमबारदेखि गरिएकाे परिक्षणमा सहभागी हुनका लागि १० हजार भन्दा बढी भारतीय नागरिकले आवेदन दिएका छन् ।

दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) काे नेतृत्वमा  पहिलाे चरणमा १८ देखि ५५ उमेरका स्वस्थ सय जनामा खाेपकाे परीक्षण गरिने जनाइएकाे छ । यसअघि जनावरमा परीक्षण  सफल भएपछि पहिलाे पटक मानव परीक्षण सुरू गरिएकाे हाे  ।

एम्स  भारतीय सरकारकाे इन्डियन काउन्सिल अफ मेडिक रिसर्च (आईसीएमआर) ले पहिलाे र दाेस्राे चरणकाे परीक्षणकाे लागि अनुमति दिएकाे १४ निकाय मध्ये एक हाे । विश्वभर काेराेना भाइरसकाे खाेपकाे परीक्षण चलिरहेकाे परिप्रेक्षमा भारतले पनि यसमा अनुसन्धान गर्दै आएकाे छ ।

खाेपकाे परीक्षण आफैमा लामाे प्रक्रिया हाे । आईसीएमआरले हैदराबाद स्थित भारत बायोटेक कम्पनिसँगकाे साझेदारीमा काेराेना विरूद्धकाे खाेप तयार गरेकाे हाे । नेशनल इंस्‍ट‍िट्यूट अफ भाइरोलोजी लगायतका संस्थानले खाेपमा काम गरिरहेका छन् ।

१२ अस्पतालमा परीक्षण सुरू

खाेपकाे परीक्षण आईसीएमआरकाे निगरानीमा भारतका १२ अस्पतालमा साेमबार सुरू भएकाे हाे । जसमा एम्स-दिल्ली, एम्स पटना, किंग जर्ज अस्पताल-विशाखापटनम, पीजीआई-रोहतक, जीवन रेखा हॉस्पिटल-बेलगम, गिलुरकर मल्टीस्पेशिएलिटी अस्पताल-नागपुर, राना अस्पताल-गोरखपुर, एसआरएम अस्पताल-चेन्नई, निजाम इन्स्टीट्यूट अफ मेडिकल साइन्सेज -हैदराबाद, कलिंगा अस्पताल-भुवनेश्वर, प्रखर अस्पताल-कानपुर र गोवास्थित एक अस्पतालसमेत छ ।

अगष्ट १५ सम्म पहिलाे परीक्षण सकिने

पहिलाे चरणकाे परीक्षण १५ अगष्टसम्म सकिनेछ । पहिलाे चरणमा सहभागीकाे शरिरमा एन्टिवडी निर्माण भए नभएकाे लगायतकाे अवस्था हेरिने छ । परीक्षणपश्चात सफल भएमा दाेस्राे चरणकाे परिक्षण हुनेछ । पहिलाे चरणकाे सुरक्षित भएमा मात्र दाेस्राे चरणमा प्रवेश हुने व्यवस्था  छ ।

दाेस्राे चरणकाे परीक्षण अलिक लामाे हुनेछ । दाेस्राे चरणकाे परिक्षणमा सहभागीमाथि ६ महिनादेखि एक वर्षसम्म अवलाेकन, अध्ययन हुनेछ । यस अवधिमा खाेपकाे साइट इफेक्ट लगायतमा अध्ययन हुन्छ ।

तेस्राे चरणमा खाेप दिएपछि नयाँ खालकाे अस्वस्थता वा विरामी भयाे वा भएन भन्ने लगायतमा अध्ययन हुनेछ । यस्ताे परीक्षण चीन, अमेरिका लगायतका मुलुकमा पनि भइरहेकाे छ । तर हालसम्म सफलता भने हात लागिसकेकाे छैन ।



प्रतिक्रिया दिनुहोस !