४ आश्विन २०८१, शुक्रबार

सत्तारुढ नेकपा भित्र शक्ति संघर्षका रोचक खेल

प्रकाशित मिति :  20 July, 2020 5:04 pm


काठमाडौं, साउन ५ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १० गते सुरु भयो । स्थायी कमिटी सदस्यहरुलाई बैठकमा एजेण्डा बैठकमा मात्रै उपलब्ध भयो ।

मुलुक कोरोनाका कारण आक्रान्त भइरहेका बेला दुई अध्यक्षको बैठकलाई सम्बोधन,सरकारको काम सम्बन्धमा, सीमा समस्या समाधानका विषय,पार्टी एकताका बाँकी काम,अमेरीकी सहयोग परियोजना एमसीसी लगायतका एजेण्डा पहिलो बैठकबाट पारित भयो ।

सत्तारुढ नेकपामा एमसीसी संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चलिरहेको थियो । एक पंक्ति एमसीसी पारित गर्ने पक्षमा थिएन भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकेसम्म एमसीसी संसदको चालु अधिवेशनबाटै पारित होस् भन्ने चाहन्थे ।

त्यसैले विवाद एमसीसीका सम्बन्धमा जस्तो थियो । यद्धपी पार्टीको आन्तरिक द्धन्द्धपनि देखिदै थियो । तेस्रो बैठकसम्म ठिकै चल्दै थियो । स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखिरहेका थिए ।

…अनि बैठक भड्कियो

असार १४ गते मदन भण्डारी फाउण्डेशनले भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमै कार्यक्रम गर्यो ।
कार्यक्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा कालापानी,लिपुलेक लगायतका क्षेत्र समेटेर नेपालको नयाँ नक्शा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीका नेतासमेत संलग्न रहेको आभिव्यक्ति दिए ।

असार १६ गते बसेको बैठकमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको चर्को विरोध मात्रै भएन यसअघि कायम भएको एजेण्डाभन्दा बाहिर विषय पुग्यो ।

प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएको र राजिनामा भारतले नभइ आफूले मागेको अर्का अध्यक्ष प्रचण्डले बताए । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समेत ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिनुपर्ने माग गरे ।

त्यति मात्रै होईन दुईदिन अघि नै निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको बैठकमा कुरा उठेपछि अर्को लफडा सुरुभयो । पार्टी फुटाउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी दर्ता गराउन लगाएको अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आरोप लगायो ।

अन्तिम छिनोपानोमा पुग्ने निष्कर्ष

विवाद उत्कर्षमा पुगेका  बेला अध्यक्ष एवं प्रधानमन्त्री  ओली र अर्का अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्षबीच गुटगत भेला तिब्र बनाए ।

असार १७ गते विहान सरकारी निवास बालुवाटारमा बोलाएर ओलीले आफू निकट मन्त्री र स्थायी समिति सदस्यहरुसँग छलफल गरे भने बेलुकी ललितपुरको झम्सिखेलमा प्रचण्ड-माधव नेपाल पक्षका स्थायी कमिटी पक्षको बैठक बसे । बैठकमा प्रचण्ड र नेता नेपालले ओलीसँग अन्तिम छिनोफानो गर्नुपर्ने बताए ।

अर्थात बहुमत स्थायी कमिटी सदस्यको छलफलले ओलीलाई दुबै पदबाट हटाउनुपर्ने निष्कर्ष निकाल्यो । तर, उनीहरुको निष्कर्ष थियो, ओलीलाई दुबै पदबाट हटाए पार्टी एक नरहने निष्कर्ष थियो ।

तिक्तता चरम बनेका बेला असार १८ गते नै पार्टी र सभामुखसँग छलफल नगरी ओलीले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसँग सिफारिस गरे र उसै दिन राष्ट्रपति संघीय संसद अन्त्य भएको पत्र संसद सचिवालयमा पठाईन् । ओलीको आशंका थियो, राष्ट्रपतिलाई हटाउन महाअभियोग ल्याउने तयारी हुँदैछ र आफूविरुद्धपनि षडयन्त्र भईरहेको छ ।

प्रचण्ड र नेपाल पक्षले पार्टी फुटाउने अध्यादेश ल्याउन ओलीले चालु संघीय संसदको अधिवेशन अन्त्य गरेको आशंका थियो । यसै आशंकाबीच अध्यक्ष प्रचण्ड र नेपालपक्षले राष्ट्रपतिलाई भेटेर महाअभियोगको हल्ला गलत भएको स्पष्ट पार्ने प्रयास भयो । यसपछि नेताहरुले नै अभिव्यक्ति दिए, पार्टी एकतामा गम्भीर संकट पैदा भउको छ ।

बैठकको अनिमित एकले अर्कोलाई अल्झाउने प्रयास

असार १८ पछि स्थायी कमिटीको बैठक नियमित छैन । दुई अध्यक्षबीच सहमतिका लागि भन्दै पटक पटक छलफल भएका छन् तर त्यस्तो कुनै निष्कर्ष निस्किएको छैन । बरु यो बीचमा एकपछि अर्को पासा फ्याक्ने क्रम जारी छ । पासा फ्याक्नेमा प्रधानमन्त्री ओली नै बढी सकृय देखिन्छन् । प्रधानमन्त्री ओली भारतीय कार्डबाट अहिले महाधिवेशनको कार्डमा आईपुगेका छन् ।

प्रचण्ड र नेपाल पक्षले त्यस्तो खास रणनीति बनाउने भन्दापनि ओलीको प्रतिवाद गर्ने र त्यसलाई फेस गर्न खोजेजस्तो देखिन्छ । प्रचण्ड निकट एक नेताले भने, ‘महाधिवेशनको प्रस्तावसम्म आउँदा उहाँले के के गर्नुसक्नु हुन्छ लगभग सबै प्रष्ट भयो । प्रधानमन्त्री ओली आफूले कुनै हालतमा पद नछोड्ने, छोड्न परे छुट्टै पार्टी बनाउने,नयाँ पार्टी बनाउन अध्यादेश ल्याउने, संसद विघटन,मध्यावधी चुनावका समेत बाटो खुल्ला बनाउनुभएको छ ।’

राष्ट्रपति विरुद्ध आउन सक्ने महाअभियोग रोक्न संसद स्थगित गरिसकिएको छ । यै बीचमा अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कित्ता स्पष्ट गर्न समेत भनिदिए ।

ति नेताले भने,‘यस्तो होला भन्ने त विश्वास नगरिहालौं तर उहाँले सबै बाटो तयार गरेर बस्नुभएको छ ।’ ओलीले आफू बच्न अहिले ‘इन्द्रजाल’ फैलाएको भनेर ठट्टा हुने गरेको छ ।

अन्योल र रक्षात्मक प्रचण्ड र नेपाल पक्ष ?

ओलीले पार्टीगत र राजकीय हिसाबले सबै अस्त्र तयार गरेपनि प्रचण्ड र नेपाल पक्षले के गर्ने ठ्याक्कै भनिसकेका छैनन् र त्यस्तो कुनै रणनीति सार्वजनिक गरेका छैैनन् ।

अहिलेसम्मको प्रयास हेर्दा सकेसम्म ओलीलाई झुकाउने कसरत नै बढी देखिन्छ । दबावमा राखेर ओलीलाई एउटा सम्झौतामा पुराएर सहज निकास दिनका लागि पनि हुन सक्छ प्रचण्ड र ओली पक्षले सचिवालय र स्थायी कमिटीमा प्रष्ट बहुमत हुँदापनि निर्णयमा पुग्न सकेका छैनन् ।

कारण हो,बहुमतबाट निर्णय गर्दा पार्टी फुट्ने खतरा । ओली आफू सबै हिसाबले तयार भएपनि कस्तो कदम चाल्लने भन्ने विषय प्रचण्ड र नेपाल पक्षको निर्णयमा भर पर्छ । प्रचण्ड र नेपाल पार्टी फुटको अपजस आफू लिन चाहदैनन् ।

ति नेताले भने,‘पार्टी फुटोस भन्ने चाहना पनि होईन र कोही यसको अपजस लिने पक्षमा पनि नेताहरु छैनन् । त्यसैले एक किसिमले गलाउने र थकाउने खेल चलेजस्तो देखिएको छ । ’

अस्ति बसेको सचिवालय बैठकमा फेरि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपछि अर्को बहस सुरु भएको छ । प्रचण्डले यसलाई मानेको हल्ला फैलिएपछि प्रचण्डमाथी नेपाल पक्षको अविश्वासको स्थिति सिर्जना भएको छ ।

यद्धपी यसलाई गलत भनेर आश्वस्त पार्ने प्रयास प्रचण्डको छ । प्रचचण्डले आजै पूर्व माओवादी आवद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । बैठकले पनि कुनै रणनीति बनाउने भन्दापनि पुरानै अडान राखेको छ ओलीले निकाश दिनुपर्छ ।

अहिलेसम्म हेर्दा प्रधानमन्त्री ओलीले आफू टसमस नहुने संकेत दिईरहेका छन् भने प्रचण्ड र नेपाल पक्ष सकेसम्म ओलीलाई गलाएर एउटा समझदारीमा ल्याउन चाहेजस्तो देखिन्छ । तर, पार्टीभित्रको आन्तरिक शक्ति संघर्षको अवतरणबारे भने अझै प्रष्ट भईसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !