४ आश्विन २०८१, शुक्रबार

थवाङ्ग गाउँपालिकाको आमदानी १५ लाख ,भत्ता र सेवा सुविधा वितरणमा ४२ लाख रुपैयाँ खर्च

प्रकाशित मिति :  20 July, 2020 7:00 pm


रोल्पा, साउन ५ । 

रोल्पाको थवाङ्ग गाउँपालिकाको आन्तरिक आय वर्षको १५ लाख रुपैयाँ बराबर मात्रै छ । तर, गाउँपालिकाले ९ महिनामा मात्रै झण्डै ४२ लाख रुपैयाँ बराबरको भत्ता र सेवा सुविधा वितरण गरेको छ ।

जनप्रतिनिधिहरुले गत आर्थिक बर्षमा कत्तिकदेखि असारसम्म ९ महिनाको भत्ता रकम बापत ४२ लाख रुपैयाँ बुझेको भेटिएको छ । ४२ लाख रुपैयाँ भत्ता पनि अनुगमन भत्ता र भ्रमण भत्ता बाहेकको हो । थवाङ्ग गाउँपालिकामा साविकका ३ वटा गाविस पर्छन् ।

संघीय र प्रदेश सरकार मार्फत विनियोजित बजेट र कार्यक्रमका आधारमा मात्रै थवाङ्गमा केही कार्यक्रमहरु देखिन्छन् ।

सेवा सुविधाबारे टिप्पणी गर्दै गाँउपालिका स्रोतले भन्यो, ‘जनयुद्धको छुट्टै पहिचान बोकेको थवाङ्ले समेत सेवा सुविधाको नाममा आम्दानी भन्दा सुविधा धेरै लिनु आफैमा लज्जास्पद बिषय हो । स्रोत बढाउने तिर छैन खाली सुविधा खानेमै व्यवस्त छन् । ‘

गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले भने गाउँपालिकाको स्रोतको समस्याले यस्तो हुनु स्वभाविक भएको बताए । उनले प्रदेश सरकारले व्यवस्था गरे अनुसार र राजपत्रमा प्रकाशित अनुसार नै सेवा सुविधामा रकम खर्च भएको बताए ।

उनले लुम्बिनी सञ्चारसँग भने, ‘हामीले नियमित विपरीत कसैलाई दिएका छैनौ तर हाम्रो क्षेत्रमा स्रोतको कमी छ यो त स्वाभाविक हो ।’ उनले धेरैजसो स्थानीय तहको समस्या भएको बताए ।



प्रतिक्रिया दिनुहोस !