८ मंसिर २०८१, शनिबार

हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य छ: प्रधानमन्त्री ओली

प्रकाशित मिति :  22 July, 2020 12:31 pm


काठमाडौं, साउन ७ । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भएको बताएका छन् ।

पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजबुत भएको छ । पार्टीले करिव दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ । पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं ।’

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन नसक्ने दाबी गरेका छन् । नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष भएको ओलीको भनाइ छ ।

उनले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन,’ हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेका छौं । हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दैछौं । पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै हुन् । पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरुमा मिसाऔँ, उत्पादन वढाऔँ, निर्यात वढाऔँ, आयात घटाऔँ । यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ ।’



प्रतिक्रिया दिनुहोस !