४ आश्विन २०८१, शुक्रबार

लकडाउन खुलेको पहिलो दिन १०० जनामा कोरोना संक्रमणको पुष्टि,२ जनाको मृत्यु

प्रकाशित मिति :  22 July, 2020 6:29 pm


काठमाडौं, ७ साउन ।

लकडाउन खुलेको पहिलो दिन १०० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ३ हजार ७सय ७९ जनामा नमुना परीक्षण गर्दा १ सय जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार सप्तरीमा १८, दैलेखमा १६, डोटी र लमजुङमा ७ जना, कालीकोटमा ६, पर्सामा ६ जना, धनुषामा ५ र सुनसरीमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै काठमाडौं, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३/३ जना, बर्दिया र सल्यानका २र२ जना तथा चितवन र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । संक्रमित मध्य १२ हजार ६८४ जना निको भएका छन् भने ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमित २ जनाको ज्यान गएको छ । त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो । पोखरामा कार्यरत चिनियाँ महिलालाई उपचारका साउन २ मा हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको थियो ।

परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्‍यु भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भएर साउन २ मा अस्पताल पुगेका उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा ६ गते मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !