४ आश्विन २०८१, शुक्रबार

सार्वजनिक यातायात सञ्चालनमा,स्वास्थ्य सावधानी अपनाउन आग्रह

प्रकाशित मिति :  23 July, 2020 12:08 pm


काठमाडौं, ८ साउन ।

कारोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेपछि झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज झण्डै आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ ।

पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आएका छन् । अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ ।

सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदूर र महासङ्घले सवारी साधन सञ्चालनको निर्णय गरेका थिए ।

अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार मर्मतपछि बाँकी सवारी साधन पनि सञ्चालनमा आउनेछन् । चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि माक्स अनिवार्यरुपमा लगाउनुपर्ने भनिएको छ । उनले भने, “सबै निकायले तोकिएको दायित्व पूरा गरेपछि सुरक्षित हुन सकिन्छ ।”

सरकारले साउनभर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा यातायात चलाउन पाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि भने लामोदुरीका यातायातपनि सञ्चालनमा आउनेछन् ।

यसअघि सरकार र व्यवसायीबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमति भएको थियो ।

त्यस्तै, यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो । त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर र पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएपछि आजदेखि सार्वजनिक सवारी सधान सञ्चालनमा आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !