१३ मंसिर २०८१, बिहिबार

बागलुङमा पहिरोले स्काभेटर र टिपर पुरियो, दुई चालक बेपत्ता

प्रकाशित मिति :  26 July, 2020 7:31 am


बागलुङ, ११ साउन ।

बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । हिजो बेलुकी साढे आठबजेतिर खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएका छन् । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नं को ट्र्याक्टर र ग १ ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । “पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ”, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका छन् ।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !