४ आश्विन २०८१, शुक्रबार

बैतडीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

प्रकाशित मिति :  7 August, 2020 10:14 am


बैतडी, २३ साउन ।

बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

गएराति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको चन्दले बताए । सोह्र वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए ।

घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ ।

मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन् । सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेको छन् । रासस



प्रतिक्रिया दिनुहोस !