१३ मंसिर २०८१, बिहिबार

काठमाडाैं उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवाहरू स्थगित

प्रकाशित मिति :  7 August, 2020 7:12 pm


काठमाडाैं, २३ साउन । 

काेराेना संक्रमण काेभिड–१९  बढ्दै गएपछि त्यसलाई कम गर्न काठमाडौं उपत्यकाका ३ वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा स्थगन गर्ने भएका छन् ।बन्दाबन्दीपछि असार १ गतेदेखि उपत्यकाका तीन वटै प्रशासन कार्यालयले सबै सेवा नियमित संचालन गरेकाेमा सङ्क्रमणको जोखिम बढेको भन्दै साउन २५ गतेदेखि सेवा स्थगन गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित बसेको आजको संयुक्त बैठकले आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गर्ने निर्णय गरेको हो ।

सरकारी निर्णयअनुसार असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र मास्क लगाउने व्यवस्था मिलाउँदै सेवा सञ्चालन गरिरहे पनि मानिसको भीडभाड बढेकाले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।  स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । अनावश्यक भीडभाड नगरी दुई मिटरको भौतिक दूरी राखेर सेवा लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य मापदण्ड नअपनाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट स्थगित गरिएका सेवा 

नयाँ नागरिकता वितरण,प्रतिलिपि वितरण,हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट नियमित संचालन रहने सेवा

शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने जारी रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !