४ आश्विन २०८१, शुक्रबार

डोटीमा बस दुर्घटना ३ जनाको मृत्यु, ३२ घाइते

प्रकाशित मिति :  12 August, 2020 8:24 am


डोटी, २८ साउन ।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।

उनले भने, “हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।” बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !