४ आश्विन २०८१, शुक्रबार

सिन्धुपाल्चोक पहिरो: बेपत्ता ३८ मध्य ५ जनाको शव भेटियो, उद्धार कार्य जारी (फोटोफिचर)

प्रकाशित मिति :  14 August, 2020 1:14 pm


काठमाडौं, ३० साउन ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा विहान झरेको पहिरोमा परेर बेपत्ता भएका ३८ जना मध्य ५ जनाको शव भेटिएको छ ।

पहिरोमा गम्भीर घाईतेलाई उपचारका लागि पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि पुगेको छ । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीले जानकारी गराएका छन् ।

यही साउन २३ गते सो ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताएको राससले जनाएको छ ।

“हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो”, उनले भने, “प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन ।”

तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा विस्फोटन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो । “हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका पाँच सयभन्दा बढी घरहरु जोखिममा परेको बताएका थियौं ,”तामाङले भने ।

तस्बिरहरु : सभामुखको सचिवालय



प्रतिक्रिया दिनुहोस !