३ आश्विन २०८१, बिहिबार

कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौँमा विभिन्न गतिविधिमा निषेधको आदेश

प्रकाशित मिति :  15 August, 2020 8:50 am


काठमाडौं, ३१ साउन ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न गतिवधिमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न क्षेत्रका गतिविधिमा रोक लगाउने निर्णय गरको हो ।

सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निश्चित गतिविधि निषेधको आदेश जारी गरेका छन् । आदेश विपरीतका काम भएमा ऐन बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ ।

आदेश अनु्सार खुला स्थानमा भेला, भीडभाड र जुलुस, भीडभाड हुने गतिविधि, जात्रा महोत्सव, पूजा तथा धार्मिक कार्यक्रम, उद्योग व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्व तथा धार्मिक कार्यका लागि हुने जमघट गर्न पाइने छैन ।
यस्तै शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, मनोरञ्जनस्थल, शैलुन सञ्चालन गर्न पाईने छैन । व्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहायल, चिडियाखाना सञ्चालन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय तथा कवाड सङ्कलन, उद्योग व्यवसायका लागि स्वास्थ्य मापदण्ड विपरीत कामदार ओसारपसार गर्न, टेक वे बाहेकका होटल रेष्टुराँ सञ्चालन गर्न निषेध गरिएको प्रजिअ दाहालद्वारा जारी आदेशमा उल्लेख    छ । आज बिहानदेखि लागू भएको उक्त आदेश आगामी भदौ १५ गतेसम्म जारी रहने जनाइएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका तीन जिल्ला मध्य काठमाडौं जिल्लामा संक्रमित बढी भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !