भाषामा के छ? [भाषाकाे इतिवृत्तान्त समेटिएकाे आलेख]
१. उठान :
भाषा भन्नाले मनको भाव व्यक्त गर्ने बोली वचन भन्ने कुरा हामीले बुझ्दै आएका छौँ । स्पष्ट रूपमा बोल्ने भन्ने अर्थमा रहेको ‘भाष्’ धातुमा ‘अ’सहित स्त्रीलिङ्गी ‘आ’ प्रत्यय लागेर ‘भाषा’ शब्दको निर्माण भएको हो । “ब्राह्मी तु भारती भाषा गीर्वाग् वाणी सरस्वती” (अमरकोश १।४।९) भनेर संस्कृत वाङ्मयमा भाषा शब्दलाई सरस्वती देवीकै पर्यायवाची शब्दका रूपमा प्रयोग गरिएको पाइन्छ ।
भाषालाई राम्रोसँग जान्ने वा भाषाको विकासमा विचार गर्ने व्यक्तिलाई ‘भाषाविद्’ वा ‘भाषाविशेषज्ञ’ भनिन्छ । २०६८ को जनगणनाअनुसार नेपालमा १२३ ओटा भाषा बोल्ने वक्ताहरूको बसोवास छ तर धेरैजसो भाषाको आफ्नै लिपि नभएका कारण अधिकांश भाषा कथ्य भाषाका रूपमा मात्र सीमित छन् र तीमध्येमा पनि केही भाषाका वक्ताहरूको सङ्ख्या अत्यन्त न्यून रहेका कारण लोपोन्मुख अवस्थामा रहेका छन् ।
२०६२/०६३ सालको आन्दोलनपश्चात् गणतन्त्रको स्थापना भएपछि संवैधानिक रूपमै गठन भएको भाषा आयोगले नेपालका सबै भाषाहरूको संरक्षण र संवर्द्धन गर्नका लागि आफ्नो प्रयासलाई अघि बढाउँदै आएको छ । पञ्चायत कालमा ‘एउटै भाषा एउटै भेष’को नारा र नीतिको आधिपत्य रहँदा नेपाली भाषाबाहेक अन्य भाषाले विकास र विस्तारका लागि राज्यबाट नीतिगत प्रोत्साहन पाएका थिएनन् तर हाल त्यस किसिमको एकभाषागत आधिपत्यको थिचोमिचो अन्य भाषाले बेहोर्नुपर्ने अवस्था छैन ।
यस अवस्थामा नेपालमा अधिकांश व्यक्तिले बोल्ने, लेख्ने, प्रकाशन गर्ने र सरकारी कामकाजको भाषाका रूपमा व्यवहारमा आइरहेको नेपाली भाषाको अपनत्वभाव, स्तरीकरण र शुद्धीकरणका दिशामा राज्य मात्र होइन हाम्रा भाषाविद्हरूको समेत गम्भीर ध्यान आकृष्ट हुन सकिरहेको छैन ।
२. भाषालाई सरस्वती ठानेर सम्मान गरिएकै छ त ?
हामीले किताब, कापी र कलमलाई सरस्वतीको प्रतीक ठानेर सम्मान गर्ने र पुज्ने गरेका त छौँ तर कथ्य होस् वा लेख्य भाषालाई पनि सरस्वती नै ठानेर सम्मान गर्नुपर्छ र पूजा गर्नुपर्छ भन्ने कुराको ख्याल हामीले गर्नै सकेका छैनौँ । हाम्रा गुरुहरूले र गुरुका गुरुहरूले पनि भाषालाई सरस्वतीजस्तै ठानेर सम्मान गर्न र सचेत भएर यसको प्रयोग गर्न हामीलाई सिकाएको भए निश्चय नै हामीहरू र हाम्रा गुरुहरू पनि भाषाको प्रयोगमा अत्यन्त सचेत हुने थियौँ, सावधानी अपनाउने थियौँ होला ।
भाषाको मर्मलाई राम्रोसँग जान्ने र भाषाकै बारेमा विचार गर्ने केही भाषाविद्हरूको अतिवादले गर्दा नेपाली भाषाको विकासमा गतिरोध उत्पन्न भएको अनुभूति धेरैजसो शिक्षक, विद्यार्थी, पत्रकारलगायत नेपाली भाषाका प्रयोक्ताहरूले गर्दै आएका छन् । केही भाषाविद्हरूले राजनीतिक घोषणापत्रजस्तै समयसमयमा भाषिक घोषणापत्र जारी नगरिदिएको भए र भाषामा नजानिँदो किसिमले हुने परिवर्तनलाई क्रमशः स्वीकार गर्न उपयुक्त हुन्छ भन्ने ठानिदिएको भए नेपाली भाषालाई पनि सरस्वतीजस्तै ठानेर सम्मान गर्दै जाने प्रयोक्ताहरूको सङ्ख्या बढ्ने थियो होला ।
एउटा कक्षामा एकथरी शब्दलाई शुद्ध ठानेर पढेका विद्यार्थीले अर्को कक्षामा पुग्दा त्यसलाई अशुद्ध ठानेर पढ्नुपर्ने विवशतामा पनि हाम्रा विद्यार्थीहरू पिल्सिने थिएनन् । भाषाविद्हरू ह्रस्वदीर्घकै व्यर्थको लडाइँमा आफूलाई विजेता घोषित गर्न अग्रसर नभएको भए नेपाली भाषाका विविध पक्षको विकासमा अवरोध खडा हुने थिएन र अङ्ग्रेजीमा लेख्दा एउटा स्पेलिङ गल्ती हुन्छ कि भनेर सचेत हुने प्रयोक्ताहरू नेपाली लेख्ता पनि त्यत्तिकै सचेत हुने थिए ।
जबसम्म भाषालाई सरस्वती देवीजस्तै ठानेर सम्मानजनक रूपमा प्रयोग गर्नुपर्ने चेतना भाषाविद्हरूमा र प्रयोक्ताहरूमा समेत पलाउँदैन तबसम्म नेपाली भाषाको स्तरीकरण र शुद्धीकरणमा एकरूपता ल्याउन सकिँदैन ।
३. मातृभाषाहरूको विकासमा नेपाली भाषा बाधक भएकै हो त ?
आफ्नै मातृभाषा बोल्न पाउनु प्रत्येक जातिको नैसर्गिक अधिकार हो । आफ्नो जातीय पहिचानसँगै आफ्नै मातृभाषामा कुराकानी गर्दा प्रत्येक जातिलाई आत्मगौरव र आत्मसम्मान पनि प्राप्त हुन्छ । बोलाइ र बुझाइको माध्यम मात्र नभएर भाषा आफूलाई चिनाउने र आफ्नो जातीय परिचय दिने सशक्त माध्यम पनि मानिन्छ । त्यसैले प्रत्येक भाषाभाषी आफ्नै मातृभाषा बोल्न र लेख्न अग्रसर हुनु आवश्यक छ ।
आफ्नै मातृभाषामा बोल्न र लेख्न अग्रसर नभई नेपाली भाषा वा अङ्ग्रेजी भाषाका माध्यमबाट बोलाइ र लेखाइमा जोड दिन थाल्दा मातृभाषाका वास्तविक वक्ताहरू घट्तै गएका छन् । बाह्य सम्पर्कमा माध्यम भाषाका रूपमा नेपाली वा अङ्ग्रेजी भाषाको प्रयोग गर्न अग्रसर हुनु अस्वाभाविक होइन तर घरमा मातृभाषामै कुराकानी गर्दै जाने सन्दर्भमा वर्तमान युवा पुस्ता सचेत नदेखिएकाले मातृभाषाका वक्ताहरूको सङ्ख्या घट्न गएको हो ।
मातृभाषी वक्ताको सङ्ख्या घट्तै जानु र नेपाली भाषाका वक्ताहरू बढ्दै जानुले मातृभाषाहरू क्रमशः सङ्कटमा पर्दै जानेछन् भन्ने कुरामा सम्बद्ध पक्षको ध्यान अझसम्म पनि जान सकेको छैन । यस परिस्थितिमा नेपाली भाषाले अन्य मातृभाषाहरूको विकासमा व्यवधान गऱ्यो भन्नु उपयुक्त देखिँदैन । नेपाली भाषाका विद्यमान बेथितिको अन्त्य नभएसम्म त्यसको प्रभाव अन्य मातृभाषाहरूमा पनि पर्न सक्ने सम्भावनालाई भने सबैले स्वीकार गर्नैपर्ने हुन्छ ।
अन्य सबै मातृभाषीहरू सचेत भएर आफ्नै मातृभाषामा बोल्न र लेख्न अग्रसर हुने हो भने नेपालीलाई मूल मातृभाषा ठान्ने प्रयोक्ताहरू पनि सचेत भएर नेपाली भाषाको प्रयोग गर्न बाध्य हुनेछन् । त्यसो हुन सकेका खण्डमा भाषाविशेषज्ञहरूको गोरुजुधाइबाट हामीजस्ता सर्वसाधारण प्रयोक्ताहरू पनि बच्न सक्नेछौँ ।
४. के भाषा बुझाइको माध्यम मात्र हो ?
नेपाली भाषालाई वर्तमानमा केही भाषाविद्हरूले बुझाइको माध्यम मात्र ठान्ने धृष्टता गरेका छन् । त्यसकै कारण वक्ताले बोलेको कुरा श्रोताले बुझेपछि पुगिहाल्यो भन्ने भ्रम धेरैजसो प्रयोक्तामा पर्न गएको छ । वक्ताहरू पनि ठाउँपिच्छे फरक भाषिकाको प्रयोग गर्ने खालका हुन्छन् ।
पूर्व मेचीको वक्ता र पश्चिम महाकालीका वक्ताका बीचको भनाइमा कतिपय नबुझिने समस्या पनि देखिन सक्छ भने विश्वभर छरिएर रहेका नेपाली वक्ताहरूमा पनि नयाँ नयाँ सम्पर्कका कारण बुझाइमा कठिनाइ हुन सक्छ । भाषालाई बुझाइमा मात्र सीमित राख्ने हो भने सबै प्रयोक्ताको लेखाइमा कहिल्यै पनि एकरूपता कायम गर्न सकिँदैन र भाषालाई जसरी प्रयोग गरे पनि हुँदो रहेछ भन्ने बेथिति मौलाउँदै जाँदा भाषाप्रति नै प्रयोक्ताहरूको रुचि घट्तै जान सक्छ ।
तसर्थ भाषा बोलाइको माध्यम मात्र नभएर लिखित संरचनाको माध्यम पनि हो र त्यही लिखित भाषाका माध्यमबाट हामीले वर्षौंसम्म भाषिक पहिचान एवम् स्वअस्तित्व पनि कायम गर्न सक्नेछौँ ।
५. अङ्ग्रेजीले नेपाली भाषालाई कमजोर बनाएकै हो त ?
घरमा हाम्रा ससाना बालबच्चाहरूको प्राकृतिक बोली नेपालीमै फुटे पनि अङ्ग्रेजी माध्यमका विद्यालयहरूमा प्रवेश पाउने हरेक ससाना बालबच्चाको कृत्रिम बोली अङ्ग्रेजीमै फुट्ने गरेको छ । अङ्ग्रेजीमा तोतेबोली बोल्दै उनीहरू अङ्ग्रेजीलाई नै प्रमुख भाषा वा मातृभाषाजस्तै ठान्न विवश हुन्छन् । मातृभाषा नेपाली भएर नेपालमै बसोवास गर्दै आएका भए तापनि उनीहरूको समेत मातृभाषा नेपाली कमजोर हुँदै जान्छ ।
विद्यालयमा सबैजसो शिक्षा ग्रहण गर्दा विद्यालय क्षेत्रभित्र अधिकांश व्यवहार अङ्ग्रेजीमै गर्नुपर्ने र नेपाली माध्यममा कम लेख्नुपर्ने भएका कारण हाम्रा विद्यार्थीहरू नेपाली विषयमा कमजोर हुँदै जान्छन् तर अङ्ग्रेजीमै पनि उनीहरूले आफूलाई कमजोर छैन भन्न भने सक्तैनन् । यसरी हाम्रा विद्यार्थी न अङ्ग्रेजीमा न त नेपालीमै योग्य हुन सक्छन् ।
फलस्वरूप हाम्रा विद्यार्थीको विद्यालयीय शिक्षाले भाषा सिकाउन भन्दा अप्रत्यक्ष रूपमा भाषामा कमजोर बनाउँदै गएको तीतो सत्यलाई धेरैले स्वीकार्न सक्तैनन् । जसका कारण आआफ्ना कर्मक्षेत्रमा खटेर काम गर्दा नेपाली भाषामा आफू सधैँ कमजोर छु भन्ने हीनताबोध गर्न धेरैजसो विद्यार्थी बाध्य हुन्छन् ।
आफ्नै मातृभाषाप्रति हीनताबोध जागृत गराएर भाषामा कमजोर बनाउने लक्ष्य त कुनै पनि शिक्षालयको हुँदैन तर भाषामा कमजोर भए कि योग्य भए ? भनेर त्यसको अध्ययन र पुनर्मूल्याङ्कन गर्ने दिशातर्फ न हाम्रा विद्यालयहरूको चासो छ न त हाम्रा अधिकांश अभिभावकहरूलाई त्यस बारेमा सोच्ने फुर्सद नै प्राप्त भएको छ ।
६. भाषामा केही छैन त ?
हामी नेपाली हौँ तर हामीलाई नेपाली भाषाभन्दा अङ्ग्रेजी भाषा जान्न र बोल्न बढ्ता मोह छ । हामी हाम्रा बालबच्चाहरूले शुद्धसँग नेपाली लेख्न जानून् भन्ने चाहना गर्दैनौँ तर अङ्ग्रेजीमा लेख्न र बोल्न पोख्त भइदियून् भन्ने कुरामा हामीहरू बढ्ता मरिहत्ते गर्छौं । विशुद्ध नेपाली बोल्दा हामीले आफू पाखे ठहरिएको अनुभूति गर्छौं र नेपाली बोल्दा पनि हामीले बीचबीचमा अङ्ग्रेजी शब्दको प्रयोग गरी नेपाली भाषालाई गरगहना लगाइदिएर ठूलै योगदान गरे जस्तो गौरवबोध गर्छौं ।
हामीलाई विद्यालयभन्दा स्कुल मन पर्छ । हामीले नेपाली भाषामा लेखिएका साइनबोर्डभन्दा बढ्ता अङ्ग्रेजीमा लेखिएका साइनबोर्ड पढ्न मन पराउँछौँ र मख्ख पर्छौं । हाम्रो सर्वोच्च न्यायालयले सवारी साधनमा नेपाली झन्डाबाहेक नेपालको पहिचान नदिने अङ्ग्रेजी भाषाको मात्र प्रयोग गरी इम्बोस्ट नम्बर राख्नुपर्ने फैसला सुनाएर नेपाली भाषा नेपालभित्रै हराएको ज्वलन्त नमुना प्रस्तुत गर्छ ।
हामी राम्रोसँग नेपाली विषयमा दक्ष भएर नेपालभित्रै आफ्नो र आफ्ना सन्ततिको भविष्य देख्न सक्तैनौँ । स्वदेशभित्रै जापानिज, चाइनिजजस्ता विदेशी भाषा सिकेर विदेशमा आफ्नो भविष्य खोज्न मन पराउँछौँ । नेपाली र भारोपेली परिवारका नेपालमा बोलिने अधिकांश भाषाहरूको मात्र होइन अङ्ग्रेजीको समेत मूल भाषा मानिने संस्कृत विषयलाई ऐच्छिक विषयका रूपमा पाठ्यक्रममा राख्दा हाम्रै मातृभाषाहरू पनि समृद्ध हुन सक्छन् भन्ने कुराको ख्याल नै नगरीकन हामीहरू विरोधका स्वर सुसेल्न अघि सर्छौं तर चाइनिजजस्ता विदेशी भाषालाई पाठ्यक्रममा राख्न खोज्दा त्यसको मौन समर्थन गर्छौं ।
यी र यस्तै कतिपय कारणहरूले गर्दा हामीले आफ्नै मातृभाषा र अधिकांश नेपालीको साझा सम्पर्कको माध्यम भाषा नेपालीलाई कमजोर बनाउँदै गएका हौँ । भाषालाई कमजोर वा निर्बल बनाएपछि हामीले भाषामा केही रहेनछ भनेर आफैले भाषाको अपमान गर्न खोज्यौँ । हाम्रा यस किसिमका दुष्प्रवृत्तिलाई देखेर हाम्रा सन्ततिहरूले पनि नेपाली भाषालाई यथोचित सम्मान र माया गर्न नसक्नु अस्वाभाविक होइन ।
हामीले आफ्नो नेपाली भाषालाई सम्मानपूर्वक प्रयोग गर्न सक्यौँ भने भाषाले पनि हाम्रो सम्मान गर्नेछ र नेपाली भाषामा आफ्नो पहिचान, आत्मसम्मान, आत्मगौरव आदि सबैथोक रहेछ भन्ने कुराको अनुभूति गर्न सक्नेछौँ ।
७. बैठान :
भाषा निरन्तर बगिरहने नदीजस्तै गतिशील हुन्छ । पोखरीजस्तै स्थितिशील हुँदा भाषा पनि परिष्कृत हुन सक्तैन तर भाषालाई गतिशील ठानेकै आधारमा भाषाको मूल नै सुकाएर भाषाको प्रवाहलाई गति दिन सकिँदैन भने स्थितिशील नठानिएकै कारण भाषामा आमूल परिवर्तन गरिनुपर्छ भन्ने घोषणापत्र पनि जारी गर्न उपयुक्त हुँदैन ।
यथासम्भव भाषाको मूल जरो र सूत्रलाई नबिर्सीकन भाषाको गतिलाई अघि बढ्न दिनुपर्छ भन्ने मान्यता राख्नेलाई जडसूत्रवादी ठानेर उपेक्षा गर्ने एउटा वर्ग र परिवर्तनका नाममा विना आधार भाषाका क्षेत्रमा नियमको घोषणापत्र जारी गर्ने अर्को वर्गको अनावश्यक द्वन्द्वबाट बचाएर नेपाली भाषालाई स्तरीकरण र शुद्धीकरण गर्दै भाषाको लाज बचाउने दिशामा प्रयोक्ताहरू नै बढी सचेत भएर निरन्तर अध्ययन र अनुसन्धानतर्फ प्रवृत्त हुन सकेमा ‘भाषालाई बुझे भइहाल्यो’, ‘जसरी लेखे पनि भइहाल्छ’ र ‘नेपाली भाषामा त केही छैन’ भन्ने जस्ता दुष्प्रवृत्तिहरूको क्रमशः अन्त्य हुँदै जान सक्नेछ ।
(लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयको सहप्राध्यापक पदमा सेवारत छन् ।)