४ आश्विन २०८१, शुक्रबार

कांग्रेसको प्रश्नः सिन्धुपाल्चोकमा जनता जोगाउन सरकार किन गम्भीर भएन ?

प्रकाशित मिति :  15 August, 2020 7:07 pm


काठमाडौं, ३१ साउन ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने लिदीका नागरिकले जोखिम रहेको जानकारी गराउदा पनि सरकारले व्यवस्थापन नगर्दा ठूलो क्षति भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसले लिखित रूपमा जनताले सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? भन्दै प्रश्न गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै जनताले सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईं मात्रै होईन राज्यको अक्षम्य गल्ती भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “हामी प्रश्न गर्न चाहन्छौ जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ ?”

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जली एवं बाँचेकाहरुलाई उपचार र राहतको कर्तव्य देशले निर्वाह गरिरहंदा घटनासँग गांसिएको गम्भीर प्रश्नबारे गम्भीर बहसको आवश्यकता नेपाली कांग्रेस सार्वजनिक रुपले औंल्याउन चाहन्छ भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ,”जुगल गापाको वडा नं २ का लिदि, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो ।

प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग नहुने भएपनि जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको भएपनि असफल भएको नेपाली कांग्रेसले टिप्पणी गरेको छ ।

कोरोनाको महामारीसँग जुध्न असफल भइ रहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको प्रवक्ता शर्माको विज्ञप्तिमा टिप्पणी गरिएको छ । विज्ञप्तिमा भनिएको छ,” कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोट प्रति गम्भीर तदारुकता साथ कार्य गर्न नेपाली कांग्रेस फेरि पनि नेकपाको सरकार संगै तीनै तहका सरकारहरुलाई अपिल गर्दछ । ”

जुगल गाउँपालिका–२ लिदीमा हिजो विहान गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । पहिरोमा परेका अझै २३ जना बेपत्ता  छन् ।

लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो ।

पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ ।

पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

स्थानीयवासीले वस्ती जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमा जानकारी गराएका थिए । तर, कुनै सुनुवाई नहुँदा पहिरोले ठूलो क्षति पुराएको छ ।

 



प्रतिक्रिया दिनुहोस !