काठमाडौं उपत्यकाका विप्लव नेकपाको नाममा कसले गर्यो ‘ब्ल्याकमेलिङ’ ?
काठमाडौं, ३२ साउन ।
विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको उपत्यका विशेष ब्यूरोले आफ्नो पार्टीको नेताका नाममा ‘ब्ल्याकमेलिङ’ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपाका उपत्यका विशेष ब्यूरो इन्चार्ज चिरन पुनले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको नाम बेचेर विभिन्नखाले अराजनीतिक तत्वहरू आफ्नो निहित स्वार्थ पूरा गर्ने कार्यमा लागेको भन्दै आफ्नो पार्टीको बदनाम गर्ने कार्य निन्दनीय भएको बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, “हाम्रो पार्टीको लोकप्रियता र नाम बेचेर विभिन्नखाले दलाल पुँजीवादका मतियारहरू, घुसपैठियाहरू, षड्यन्त्रकारी एजेन्टहरू, बिचौलिया तस्करहरू र अराजनीतिक तत्वहरू हाम्रो पार्टीलाई बदनाम गराउने र आफ्नो सीमित स्वार्थ पूरा गर्ने कार्यमा लागिरहेको देखिन्छ ।”
उनले आफ्नो पार्टीको नाम लिँदै जनतालाई अनावश्यक मानसिक यातना दिनेजस्ता गतिविधि निन्दनीय र भत्र्सनायोग्य भएको उल्लेख गरेका छन् ।
आफ्नो पार्टीको बदनाम हुने गरी गरिने सबै प्रकारका गलत गतिविधिहरूको भ्रममा नपर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ । नेकपाले त्यस्ता व्यक्तिको पहिचान गरि उचित समयमा कारबाही गर्ने बताएको छ ।
के भएको थियो ?
निर्माण व्यवसायी इन्द्र सापकोटालाई आफू विप्लव नेतृत्व नेकपाको उपत्यका इञ्चार्ज चिरन पुन हुँ भन्दै रकम मागेको र सो रकम नदिए जे पनि हुने भन्दै धम्की दिएको (अडियो) फोन रेकर्ड सार्वजनिक भएको थियो ।
जनआस्था डट.कम.मा सार्वजनिक भएको फोन रेकर्डमा उक्त व्यक्ति रसुवाका प्रदेश सांसद प्रेम तामाङ भएको समाचारमा उल्लेख छ । सापकोटा र तामाङ पूर्व साझेदार व्यवसायीक साझेदार रहेको भनिएको छ । उक्त अडियो सार्वजनिक भएपनि पुनले विज्ञप्ति जारी गर्दै घटनाको ध्यानकर्षण भएको उल्लेख गरेका हुन् ।