४ आश्विन २०८१, शुक्रबार

बाढीपहिरो र कोरोना नियन्त्रणमा सरकारको भूमिका सन्तोषजनक भएनः सभापति देउवा

प्रकाशित मिति :  17 August, 2020 3:05 pm


काठमाडौं, १ भदौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोले पुराएको धनजनको क्षति न्यूनिकरण र कोरोना नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सभापति देउवाले देशका विभिन्न ठाँउमा बाढी पहिरोले क्षति पुराउँदा र कोरोना संक्रमितको संख्या बढी रहँदापनि सरकारको भूमिका सन्तोषजनक र प्रभावकारी नभएको बताएका हुन् ।

भेटमा सभापति देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको र कयौं बेपत्ता भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई भने, “गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?”

देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको तर  सरकारको भूमिका सन्तोषजनक नदेखिएको भन्दै सभापति देउवाले व्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको , संक्रमण तीब्र गतिमा बिस्तार भएको भन्दै सभापति देउवाले बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ नदेखिएको सभापति देउवाको भनाई थियो । देउवाले भने,”कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?”

सभापति देउवाले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेको बताका थिए । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखिएको भन्दै सभापति देउवाले बलमिच्याई नगर्न आग्रह गरेका थिए ।

उनले भने, “प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन ।”

उनले अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीका ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले यी सबै बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष आग्रह र नेपाली कांग्रेसको तर्फबाट माग प्रधानमन्त्रीसँग माग गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !