७ मंसिर २०८१, शुक्रबार

‘भर्चुअल’ दुनियामा मौलिक तीजको स्मरण

प्रकाशित मिति :  20 August, 2020 2:44 pm


‘आयो तीज करेलीको लहरा झैं, गयो तीज चरी उडे झैं…’ गाउँघरमा पञ्चमीको दिन गाइने तीजको भाका हो । वर्षभरी पर्खेर मनाइने पर्व भए पनि हिन्दू नारीले कोरोना भाइरसका महामारीबीच प्रभावित बनेको छ । यो वर्षको तीज त्यति रमाईलो छैन ।

समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सरकारले काठमाडौं उपत्यका तथा कोरोना संक्रमति बढी भएकाका जिल्लामा निश्षेधआज्ञा जारी गरेको छ । यसपालीको तीज घरपरिवारमा मनाउन र भीडभाड नर्गेन सरकारले आम समुदायमा अलिप गरेको छ । सरकारको निणर्यलाई पालना गरी यस पालीको तीज घरमै मनाउनु पर्ने नै सचेत नागरिकको कर्तव्य हो ।

नेपाली नारीहरुको महान् चाड तीज वैदिक हिन्दु सनातन परम्परा, संस्कृति, संस्कार तथा महिलाको सौभाग्यको प्रतिक स्वरुप रातो साडी, सिन्दुर, पोतेमा सजिएर भगवान शिवको आराधाना गरी निराहार व्रत लिई मनाउने चलन रहि आएको छ । विवाहित नारीले आफ्नो श्रीमान्को लामो आयु र अविवाहितहरुले नारीले योग्य श्रीमान् पाउनका लागि यो वर्त बस्ने गरेको पाइन्छ ।

पौराणिक कथा अनुसार हिमालय पुत्री पार्वतीले शिवलाई पाउँ भनि शिवको आराधाना गर्दा उनले शिव भगवानलाई प्राप्त गरेको कथा हामीले सुन्दै आएका छौ । त्यसैले पनि हिन्दू समाजमा तीजको छुटै महत्व छ ।

बीच्च बीच्चमा, छेउछेउमा र छतछतमा नाच्नुपर्छ भन्ने फरक किसिमका तीज गीतको प्रचलनमाझ तीज पनि मर्चुअल रमाइलोमा वित्ने जोखिम एकातिर छ भने यसपाली त कोरोनाले नै प्रभावित बनाइहाल्यो । आधुनिकतामा रमाइरहँदा पनि हामीले बालापनमा मनाएका तिजका अनुभूतिहरु मानसपटलमा ताजै छन् ।

तीजको बालापन र युवा अवस्थाको अनुभव सबैका हुन्छन् । मेरा पनि छन् । आधुनिकरणले सामाजिक संस्कार र संस्कृति ढलमलिरहको बखतमा तीजको सन्दर्भमा हामीले मनाउने गरेको तीजको अनुभूति यहाँ बाँड्न चाहें ।

मेरो बाल्यकालको एक दशक कैलालीको धनगढीमा बित्यो । १० वर्षको बसाई पश्चात व्यवसाय छोडेर बुबाआमा पुन बुटवल फर्किनु भयो । त्यति बेलासम्म मलाई तीज पर्वको खास स्मरण छैन । किनकी मेरी आमाले तीजका लागि भनेर कहिल्यै माईत गएको थाहा पाईन ।

वाआमाका अनुसार नेपालमा बाटो नभएका कारण हामी भारत हुदै धनगढी पुगेका थियौ रे । टाढा भएकै कारणले आमा माईत जान नपाएको कुरा अलिक ठूलो भए पछि महसुस भयो । बुटवल फर्किएपछिका तीजका दिनहरु भने मस्तिस्कमा ताजै छ ।

कति रमाईलो थियो आज भन्दा १७ वर्ष अगाडिका तीज । गाँउभरिका आफन्तहरु जम्मा भई मादलको तालमा गीत गुन्जिथ्यो र वल्लो गाँऊबाट पल्लो गाँऊसम्मका मानिस जम्मा भई राति अबेलासम्म तीजका भाकामा गीत गाउथे । राम्रो मादल बजाउन जान्ने मेरा इन्द्र मामा र हरि मामालाई म हरेक तीजमा सम्झने गर्दछु । उहाँहरुको मादलको तालमा सुमधुर गीत गाउने सारदा सानिमा र हिरा सानिमालाई पनि नसम्मिmने कुरै भएन ।

अहिले एक महिना अगाडि दर खाए जस्तै त्यतिबेला कृष्णअष्टमीपछि तीजको खास माहोल शुरु हुन्थ्यो । सबैको घरमा पालोपालो तीजको गीत गाउने कार्यक्रम हुन्थ्यो त्यसमा पनि आँगन ठूलो हुनेको घरमा धेरै जना अट्ने हुनाले ठूलो आँगन हुने घरमा तीजका गीत गाउन जम्मा भईन्थ्यो ।
समयसँगै तीज मनाउने शैलीमा परिर्वतन आएको छ ।

तीजमा नारीका दुख पीडालाई भुलाउने भन्दा पनि तडक भडक देखाउने शैली हावी हुदै गएको छ । त्यसमा पनि हुनेखानेका लागि रमाईलो पर्व र सामान्य जीवन निर्वाह गर्नेका लागि बोझ हुँदै गएको छ । धर्म र सँस्कृतिभन्दा पनि देखाउनकै लागि तीजका नाममा बिकृति भित्रिदै भएको छ । विगत केही समय यता तीज चाड भन्दा पनि फेसन जस्तै भएको छ । आधुनिकताको नाममा कतिपय समाजले पचाउन नसक्ने खालका तडकभडक पनि तीजमा हुन थालेका छन् ।

माईती गएर दर खाने चलन पार्टी प्यालेस र ठूला होटलतिर केन्द्रित भएको छ । तीजमा खाईने दर, दरभन्दा पनि भोज जस्तै भएको छ । हाम्री आमा र हजुरआमा खाएको जस्तो दर हामीले खान छाडिसकेका छौ । हाम्री आमा र हजुरआमाले दरमा ढकने, आलुको अचार, दुध, कुरौनी र अनादीको चामलमा ध्यू हालेर पकाएको परिकार खानुहुन्थ्यो । तर आजभोली हामीले खाने दरमा यस्ता परिकार कमै हुन्छन् ।

तीजको पर्सीपल्ट मनाईने ऋषि पचंमीलाई अहिले कतिपय नारीहरुले बहिष्कार गर्दै गएको पाईन्छ । नारीहरुलाई दवाउन खोजिएको सँस्कृतिलाई हटाउनु पर्छ भन्नेहरु पनि धेरै छन् । धर्मशास्त्र अनुसार ऋषि पंचमीको ब्रत गर्नाले महिनावारी हुँदा विराएका सम्पूर्ण पापहरु पखालिने हुनाले महिलाहरुले यो वर्त गर्ने चलन छ ।

२१ औं शाताब्दीमा आएर महिनावारी हुँदाको पाप पखाल्ने भन्दा हामीलाई अचम्म लाग्नु स्वाभिक हो । आज भन्दा १५ वर्ष अगाडि मेरी मामाघरकी हजुर आमाले भनेको कुरा याद आउछ । ऋषि पंचमी वर्तको निँहुमा बिहे गरेकी चेली थप २ दिन माईती बस्न पाओस् भनेर यस्तो चलन बनाएको होला भन्नु हुन्थ्यो । त्यतिबेलाको समयमा पंचमीबर्त महिलालाई थप आरामको लागि थियो भन्ने लाग्छ पनि लाग्दछ । यि विषयमा वहस चलिरहन्छ । यसबीच तीज पनि चलि नै रहन्छ ।

तीज पर्वलाई अनेकन कथा सँग जोडिन्छ तर यो पर्व एउटी नारी बिहे पश्चात २ रात भए पनि आफ्नो माईतीघरमा बाबुआमा, दिदी बहनिीसँग बिताउन पाओस् भन्ने हिसाबले मान्दै आएको पाईन्छ । पहिले जस्तो सासु ससुरा र नन्दअमाजुको हेपाईले अताल्लिएकी छोरी माईतमा आएर दुख बिसाउने भन्ने कमै हुन्छ । समयसँगै समाज परिर्वतन भएको छ । समाजमा बुहारी पनि छोरी सरह हुदै गएका छन् ।

हाम्रो आमा र हजुरआमाले जस्तो हामीले भोग्नु परेको छैन यसको मतलब सबै ठाँउ र समाज परिर्वतन भयो भन्न नमिल्ला तर केही हदसम्म भने भएको छ । त्यसैले तीजलाई दुखसुख बिसाउने भन्दा पनि माईतीमा गई मिठोमसिनो खाने पर्वका रुपमा लिन थालिएको छ ।

तीज पर्व भनेकै नारीको पर्व हो, हिजो आज नारी पुरुष दुवैले तीजलाई साझा पर्वका रुपमा मनाउन थालेका छन् । हामी आफैले पनि देखेकै छौ दर कार्यक्रममा महिलासँगसँगै पुरुष पनि सहभागिता जनाउदै आएका छन् । यसको मतलब यसलाई नराम्रो भन्न खोजेको होईन् तर हाम्रो सँस्कृति अनुरुप भएन कि भन्ने मात्रै हो ।

तीजमा गाइने गीतमा पनि कति छाडापन छ हामी देख्न र सुन्न सक्छौ । गीत निकाल्ने पनि महिलाभन्दा पुरुषनै धेरै छन् होला । आजभोलिका तीजका गीत आफन्तसँग सँगै बसरे सुन्न नसकिने भएका छन् । तीजका गीतहोकि रत्यौली छुट्याउन गाह्रो हुन्छ । सबैलाई त्यस्तो भन्न भने खोजएिको होईन कतिपय राम्रा गीत पनि छन् जसमा हामी छमछमी आफन्तहरुमामm नाँच्न र गाँउन पनि सक्ने स्तरका बनेका छन् ।

प्रविधीले हामीलाई असामाजिक बनाउने जोखिम पनि उत्तिकै छ । सामाजिक संजालको विस्तारसँगै हामीले हाम्रा धर्म र सँस्कृति बिर्सदै गएका छौ । सामाजकि संजालमा जोडिनका लागि हामीले सँस्कृतिलाई फेसनमा परिर्वन गर्दै गएका छौ । हाम्रा अग्रजहरुले मान्दै आएका परम्परा हामीले तोड्दै गएका हौ की भन्ने लागि रहेको छ ।

हुन त समयसँगै सँस्कृति पनि परिर्वतन हुन्छनै तर सँस्कृति नै मासिने गरि परिर्वतन भने पक्कै राम्रो होईन । हामीले समाजको नकारात्मक सोचलाई परिर्वतन गर्ने हो सँस्कृतिलाई होईन । पर्व र सँस्कृतिलाई इतिहास नबनाऔं । समाजका नकारात्मक कुरा परिवर्तन गरौ । सँस्कृतिको जर्गना गरौ । यसपालीको तीज घरमै नाँचौ, अर्को बर्षे तीज चौतारामा नाँच्नलाई साँचौ । पुराना जामानको तीज सम्झेर मच्ची मच्ची पिंग खेल्दै नाचौंला ।

यसपाली त यस्तै भयो । कोरोनाका बीच भर्चुअल गफगाफ र गीतसंगीतमा रमाएर घरमै बसेर तीज मनाऔं । बीच्चबीच्चमा, छेउछेउमा, छतछतमा जस्ता गीत सुनेर मनाऔं । यद्यपी तीजको लहर आयो बरिलै… भाका हाम्रो मौलिक हो । भर्चुअल युगमा पनि आफ्नो मौलिकतालाई नविसौं । हिन्दु नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा धेरै धेरै शुभकामना ।



प्रतिक्रिया दिनुहोस !