३ आश्विन २०८१, बिहिबार

विदेशमा अलपत्र नागरिकको उद्धारपछि बस्न क्वारेन्टाइन होटेलको सूची र मूल्य सार्वजनिक

प्रकाशित मिति :  21 August, 2020 2:20 pm


काठमाडौं, ५ भदौ ।

सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टाइनमा राख्न होटलको सूची र मूल्य सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागबाट उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा ३,५०० शैया क्षमता रहेको छ ।

पर्यटन विभागले बिहीबार क्वारेन्टाइनका लागि होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौँलाई उपलब्ध गराएको थियो ।क्वारेन्टाइनका लागि तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सूचीअनुसार पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनको रुपमा छानिएको छ ।

क्वारेन्टाइनमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरिएको छ ।  पाँच तारे होटलमा एकल ९ हजार र दुई जना साझेदारीमा बस्ने कोठाका लागि ६ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै चारतारे होटलमा एकल ८ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको ८ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति ५ पाँच हजार, दुई तारेमा एकल ५ हजार र दुई जना भएमा प्रतिव्यक्ति ३ हजार ५, एकतारेमा एकल ४ हजार र दुई जना भएमा प्रतिव्यक्ति २ हजार ५ सय तथा पर्यटकस्तरको होटलमा एकल २ हजार ८ सय र दुई जना भएमा प्रतिव्यक्ति १ हजार ८०० शुल्क तोकिएको छ ।

पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ । पर्यटकस्तरको होटलले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ । तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ ।

सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको फेरि उद्धार गर्ने निर्णय गरिसकेको छ । त्यसरी विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तीमा पनि एक साता होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !