४ आश्विन २०८१, शुक्रबार

विवाद समाधानका लागि सुझाव दिन गठित नेकपा कार्यदलले प्रतिवेदन बुझायो

प्रकाशित मिति :  22 August, 2020 6:12 pm


काठमाडौं, ६ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्य कार्यदलले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलका सदस्य जनार्दन शर्माले सर्वसम्मतिले प्रतिवेदन तयार गरेर दुबै अध्यक्षलाई संयुक्त रुपमा बुझाएको जानकारी गराएका  छन् ।
शर्माले भनेका छन्,”नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरि अध्यक्षद्वयलाई बुझाइएका छौं ।”

कार्यदल संयोजकमा महासचिव पौडेल र सदस्यहरू जनार्दन शर्मा,शंकर पोखरेल, सुरेन्द्र पाण्डे,भीम रावल र पम्फा भुसाल रहेका थिए । नेकपाभित्र विवाद चर्किदै गएपछि विवाद समाधानका लागि कार्यदल गठन गरिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्नुपर्ने माग राखेपछि विवाद चर्किएको थियो । पार्टी विभाजनतर्फ गएको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

विवादकै कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक निर्णयमा पुग्न सकेको छैन । पार्टी विभाजन रोक्न र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै १ सय २० जना केन्द्रीय सदस्यले पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन् भने ६१ जना सांसदले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरेर पार्टी एकताको पक्षमा दबाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !