कोरोना रोकथामका लागि काठमाडौंका मेयरलाई गगन थापाको ६ बुँदे ध्यानाकर्षण
काठमाडौं, ८ भाद्र ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संघीय सांसद गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य तथा स्वास्थ्य विभागका प्रतिनिधिसंग छलफल गरी कोरोना रोकथामका लागि ६ बुँदे ध्यानाकर्षण गराएका छन् ।
महानगरप्रमुख शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा बढ्दो कोरोना संक्रमण रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् ।
पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको कोरोना संक्रमणलाई महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ,परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिने सांसद थापाले भनाई छ।
सांसद थापाले महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई गराएका ध्यानाकर्षणका ६ बुँदा :
१. काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामीसँगै काम गर्न चाहन्छौं । तपाईं सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।
२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।
३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।
४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।
५. खाद्यान्न पसल दिनको १/२ घण्टा मात्र खोल्न दिँदा झन् भीडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घरपिच्छे सामान पनि पाइन्छ र भीड पनि नहुने हुन्छ ।
६. कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरबासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सोको प्रभावकारी सम्प्रेषण गर्न ।
उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण भएको सांसद थापाले बताएका छन् । ‘हामी सबै सहयोग गर्न तयार छौँ। नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो,’ उनले भने ।