संस्कृत भाषामाथिको राजनीति र यसको प्रभाव
उठान :
आजसम्मको अनुसन्धानले संस्कृत भाषा विश्वको सबैभन्दा प्राचीन भाषा मानिन्छ । संस्कृत वाङ्मयले मूल रूपमा सँगालेको विश्वको साझा सम्पत्ति वेद हो । त्यसैले “वेदोऽखिलो धर्ममूलम्” अर्थात् सम्पूर्ण धर्महरूको मूल नै वेद मानिएको छ । विश्वकै अद्वितीय र वैज्ञानिक मानिने पाणिनीय व्याकरण पनि संस्कृतमै भेटिन्छ ।
वैदिक संस्कृतबाट लौकिक संस्कृत, प्राकृत र अपभ्रंश हुँदै नेपाली, मैथिली, भोजपुरी, हिन्दी आदि आधुनिक आर्यभाषाहरूको जन्म भएका कारण यिनको संरक्षण र संवर्द्धनका लागि संस्कृतले अप्रत्यक्ष रूपमा प्राणसञ्चार गरिरहेको छ । वर्तमान भौतिकवादको बढ्दो विकासले सँगसँगै डरत्रास र विनाशको अशान्त वातावरण पनि निम्त्याउँदै जान थालेका कारण अध्यात्मवादको शान्त वातावरण संस्कृत वाङ्मयबाट प्राप्त हुन्छ भनेर विकसित देशका अधिकांश नागरिकहरू संस्कृत वाङ्मयको अध्ययन र अनुसन्धानतर्फ आकृष्ट हुँदै गएका छन् ।
यस अवस्थामा नेपालमा संस्कृत भाषाभित्र विद्यमान ज्ञानभण्डारलाई दोहन गरिरहन सक्ने जनशक्तिको उत्पादनका लागि सरकारले मात्र होइन सम्पूर्ण नेपाली जनताहरूले चासो र अभिरुचि देखाउनुपर्ने हो तर अपेक्षाकृत मात्रामा त्यस किसिमको चासो र अभिरुचि देखाउने व्यक्तिहरू अत्यन्त कम छन् र तिनको पनि यथोचित सम्मान गर्नबाट हामीहरू दिनप्रतिदिन चुकिरहेका छौँ । त्यति मात्र होइन हामीमध्ये कतिपयले जानेबुझेर अनि कतिपयले नबुझेरै संस्कृत भाषामाथि राजनीति गरिरहेका छौँ ।
संस्कृत वाङ्मयको समयानुकूल दोहन गर्न नसकी संस्कृतमा सबैथोक छ भनी अन्धभक्त बनेर समर्थन गर्ने र संस्कृत बाहुनको मात्र भाषा भएकाले संस्कृत भाषा सबैलाई लाद्न हुँदैन भनेर विरोध गरिरहने दुवै अतिवादको चपेटामा परेका कारण नेपालमा संस्कृत भाषाको समायानुकूल संरक्षण र संवर्द्धन हुन सकेको छैन ।
संस्कृत भाषामाथि राजनीति गर्नाले संस्कृत वाङ्मयको विनाश हुने होइन, हामी नै ज्ञानको भण्डारबाट वञ्चित हुनेछौँ भन्ने कुरा हामीले जति छिटो सोच्न सक्छौँ त्यति नै छिटो संस्कृत वाङ्मयबाट हामी लाभान्वित हुन सक्नेछौँ ।
संस्कृत भाषामाथि राजनीतिको बीजारोपण :
नेपालको इतिहासमा लिच्छवीकाल संस्कृत भाषाको विकासका लागि स्वर्णकाल मानिन्छ । लिच्छवीकालमा संस्कृतमा लेखिएका धेरैजसो अभिलेख, शिलापत्र, ताम्रपत्र, ताडपत्र आदिले लिच्छवीकाल संस्कृतका लागि स्वर्णकाल मानिएको हो । मल्लकालमा पनि केही मल्लराजाहरूले संस्कृतमै साहित्यिक कृतिहरूको सृजना गरेका थिए ।
राणाकालमा संस्कृत शिक्षाको यथोचित विकास हुन नसके पनि भोजपुरको दिङ्लामा र काठमाडौँको रानीपोखरीमा सरकारीस्तरमा संस्कृत विद्यालयहरूको स्थापना भएको पाइन्छ ।
रानीपोखरीस्थित तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले २००४ सालमा थालेको ‘जयतु संस्कृतम्’ आन्दोलनले राणाकालको अन्त्य गर्न र संस्कृत शिक्षामा समयानुकूल सुधार गर्ने दिशामा महत्त्वपूर्ण योगदान दिएको थियो तर सोही आन्दोलनमा सहभागी हुनेहरू र तिनका शिष्यप्रशिष्यहरू राज्यको नीतिनिर्माण तहमा पुग्दासमेत संस्कृत शिक्षाको विकासका बारेमा विशेष ध्यान दिन पछिपरेका कारण संस्कृत शिक्षामाथि राजनीतिको बीजारोपण हुन थालेको हो ।
विद्यालय तहबाट संस्कृत हटाउने राजनीति :
२००७ सालमा देशमा प्रजातन्त्र त आयो तर संस्कृत भाषामाथि राजनीति गर्नेहरू त्यतिबेलादेखि नै सलबलाउन थाले । प्रजातन्त्र आएको मौका छोपेर विदेशीहरूले सहयोगका नाममा संस्कृत भाषालाई जनस्तरबाट विस्थापित गर्न बनाएको षड्यन्त्रलाई नेपालका बुद्धिजीवीहरूले बुझ्नै सकेनन् वा बुझेर पनि बुझ पचाए ।
त्यसैको फलस्वरूप राष्ट्रिय शिक्षा आयोग २०११ को प्रतिवेदनले संस्कृत शिक्षालाई प्राथमिक शिक्षाबाट हटाउन सिफारिस गरेकाले र नयाँ शिक्षा योजना २०२८ ले निम्नमाध्यमिक एवम् माध्यमिक तहबाट अनिवार्य संस्कृत शिक्षालाई हटाई अङ्ग्रेजीलाई अनिवार्य गर्न गरेको सिफारिसका कारण संस्कृत शिक्षालाई क्रमशः निर्मूल पार्दै जान थालिएको पुष्टि हुन्छ ।
संस्कृत हटाउँदा तत्काल जनविरोधको सामना गर्न सकिँदैन भनेर देखावटी रूपमा अनिवार्य ठानेर निमावि तहमा राखिएको अनिवार्य संस्कृत शिक्षाप्रति न सरकारले नै विशेष चासो दिएको थियो न त विद्यालय सञ्चालक समितिले नै बढ्ता ध्यान सकेका थिए ।
छुट्टै विषय शिक्षकको व्यवस्था नगरिएका कारण नेपाली विषय शिक्षकले काम चलाउँदै आएको र नपढे पनि परीक्षामा विद्यार्थीलाई सहजै उत्तीर्ण गराइदिने त्यही अनिवार्य संस्कृत शिक्षा पनि माओवादी द्वन्द्वका कारण विद्यालय तहबाट सधैँका लागि विस्थापित हुन पुग्यो ।
संस्कृतमा समाचार प्रसारण हुन थाल्दा विरोधको राजनीति :
जब जब संस्कृतको कुनै कुरो उठ्छ तब तब विरोधका स्वरहरू सुसेल्ने क्रम पनि देखापर्दै जानु नेपालका सन्दर्भमा कुनै आश्चर्यजनक विषय होइन ।
२०५१ चैत्रमा जब संस्कृत भाषामा रेडियो नेपालबाट समाचार प्रसारण हुन थाल्यो तब यसको विरोध र समर्थनमा आएका लेखरचनाहरूले नेपालका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरू महिनौँ दिनसम्म रङ्गिए । त्यतिखेर रेडियो भन्नेबित्तिकै सबै नेपालीले रेडियो नेपाल नै बुझ्थे र रेडियो नेपालका श्रोताहरू पनि लाखौँ थिए ।
संस्कृतको समाचार प्रसारणबाट श्रोताहरूले केकतिले लाभ लिन सके ? भन्ने बारेमा रेडियो नेपालले अवश्य पनि श्रोता सर्वेक्षण गरेकै होला र नगरेको भए पनि संस्कृत समाचार प्रसारण हुँदा नेपालमा बेलिने नेपाली, मैथिली, भोजपुरी, थारू आदि आधुनिक आर्यभाषाको शब्दभण्डारमा शुद्धता ल्याउन त्यसले अवश्य पनि केही मद्दत पुऱ्याएकै हुनुपर्छ ।
सहरबजारतिर त अहिले एफएम रेडियोहरू बढ्ता भएकाले रेडियो नेपालबाट संस्कृत समाचार सुन्नेहरू नभेटिएलान् तर जहाँ अझैसम्म एफएम रेडियोको विस्तार भएको छैन त्यहाँ भने रेडियो नेपालमा संस्कृत समाचार सुन्ने सीमित श्रोताहरू अझसम्म पनि भेटिन्छन् । एफएमहरूसँग सहकार्य गरेर रेडियो नेपालले संस्कृत समाचार प्रसारणलाई अझै पनि जनजनमा पुऱ्याउन सक्छ ।
हाल नेपाल टेलिभिजनबाट पनि संस्कृतमा समाचार प्रसारण हुन्छ र गोरखापत्र दैनिकमा प्रत्येक दुईदुई हप्तामा संस्कृत पृष्ठमा संस्कृतमा समाचार प्रकाशन हुन्छ । नबुझेर संस्कृत भाषाको विरोधको राजनीति गर्नेहरूले संस्कृत समाचार सुन्दा, हेर्दा र पढ्दा कुनै किसिमको हानि हुँदैन बरु आफ्नै लिखित भाषालाई स्तरीय बनाउन यसले निकै सहयोग पुऱ्याउने कुरा सुनिश्चित छ ।
माओवादी द्वन्द्वकालमा अनिवार्य संस्कृत विस्थापनको राजनीति :
माओवादी द्वन्द्वकालमा कान्तिपुर दैनिक पत्रिकामा २०५७ माघ २० र २१ गते माओवादीका बौद्धिक नेता सुरेश आले मगरको ‘संस्कृत भाषासम्बन्धी केही कुराहरू’ शीर्षकको एउटा लामो आलेख सार्वजनिक भएको थियो । त्यसलाई पनि संस्कृत भाषामाथि भएको राजनीतिको एउटा महत्त्वपूर्ण शृङ्खला मान्न सकिन्छ ।
संस्कृतले सामन्तवादको संरक्षण र संवर्द्धन मात्र गऱ्यो, संस्कृतले बाहुनहरूलाई मात्र रोजगारीको अवसर सृजना गऱ्यो र आदिवासी/जनजातिहरूको शैक्षिक विकासलाई अवरुद्ध पाऱ्यो भन्दै अनिवार्य संस्कृतलाई हटाउनुपर्छ भन्ने विचार उक्त लेखमा व्यक्त भएको थियो ।
साथै संस्कृतले नेपाली भाषाको कमजोरी हटाउन नसक्ने र “सेतो हात्तीका रूपमा रहेको महेन्द्र संस्कृत विश्वविद्यालयलाई पनि तुरुन्त विघटन गरेर त्यसका ठाउँमा बहुसंस्कृति विश्वविद्यालय वा कुनै कृषि, इन्जिनियरिङ वा चिकित्साशास्त्रको विश्वविद्यालय स्थापना एवं सञ्चालन गरिएमा त्यो अत्यन्त औचित्यपूर्ण एवं सराहनीय हुनेछ” भन्दै उक्त लामो लेखलाई अन्त गरिएको थियो ।
त्यतिबेला पनि करिब दुई महिनासम्म संस्कृतको समर्थन र विरोधमा विभिन्न लेखरचना र पाठक प्रतिक्रियाहरूबाट नेपालका राष्ट्रिय दैनिक पत्रिकाहरू रङ्गिन पुगेका थिए । माओवादी द्वन्द्वकालमा सार्वजनिक बहसको विषय बनेको उक्त आलेख लेखक आले मगरको वैयक्तिक दृष्टिकोण मात्र थिएन त्यो त माओवादी पार्टी र उसकै वर्गीय विद्यार्थी सङ्गठनको औपचारिक दृष्टिकोण थियो होला जसका कारण नेपालका विद्यालयबाट अनिवार्य संस्कृत विषय सधैँका लागि विस्थापन भयो । राजनीति त एउटा वर्षायामको भेलजस्तै रहेछ जसले नराम्रासँगै राम्रा कुराहरूलाई पनि बगाएर लैजाँदो रहेछ ।
सशस्त्र द्वन्द्वबाट शान्तिवार्ता हुँदै सत्तामा पुगेपछि हिजो विरोध गरिएको त्यही सत्ताको आसन सर्वप्रिय हुँदो रहेछ र आफैलाई बचाउन भाषा–संस्कृति पनि नबचाई नहुँदो रहेछ भन्ने चेतना वर्तमानमा जाग्न थालेको छ । फलस्वरूप हिजो विद्यालय तहबाट संस्कृत हटाउनुको पश्चात्तापबोधले आज विद्यालय तहमा ऐच्छिक नै भए पनि संस्कृत भाषाको पठनपाठन गर्नुपर्ने प्रस्तावमाथि निर्णय र पाठ्यपुस्तक नै पनि सार्वजनिक भइसकेको छ ।
ऐच्छिक संस्कृत राख्न खोज्दा विरोधको राजनीति :
सङ्घीय गणतन्त्रको स्थापना भएपछि हालै जारी गरिएको विद्यालयस्तरीय आधारभूत तहको नयाँ पाठ्यक्रम २०७६ मा स्थानीय तहमा संस्कृत विषयलाई कक्षा १ देखि नै ऐच्छिक विषयका रूपमा राख्न सकिने व्यवस्था गरिएको छ । संस्कृतलाई विद्यालय तहको पाठ्यक्रममा राख्ने व्यवस्था भएसँगै संस्कृतका पक्ष र विपक्षमा जनधारणाहरू सार्वजनिक भइरहेका छन् ।
संस्कृतप्रेमीहरूले यसलाई अनिवार्य विषयकै रूपमा राखिएको ठानेर स्वागत गरिरहेका छन् भने संस्कृतका विपक्षमा धारणा व्यक्त गर्नेहरूले पनि विद्यालय तहमा संस्कृत अनिवार्य नै गर्न लागिएको हो कि भन्ने ठानेर आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गरिरहेका छन् । संस्कृत भाषामाथिको वर्तमान यही राजनीतिले गर्दा तयार भइसकेको कक्षा १ को पाठ्यपुस्तक केही विद्यालयमा भए पनि लागू गर्न सकिएला कि नसकिएला ? भन्ने चिन्ता पाठ्यक्रम विकास केन्द्रमा हुनु अस्वाभाविक होइन ।
आधारभूत तह (१–३ कक्षा) को पाठ्यक्रम २०७६ ले मातृभाषा, स्थानीय विषय र संस्कृत भाषा यी तीन विषयमध्ये कुनै एउटा विषय लिन पाउने व्यवस्था गरेको छ । यीमध्ये कुनै एउटा विषयलाई मात्र अनिवार्य गरिएको छैन । कसैले आफ्नो मातृभाषामै शिक्षा लिन चाहेमा मातृभाषाकै पाठ्यपुस्तक पढाउन सक्छन् भने कुनै स्थानीय निकायले आफ्नै स्थानीय विषयको मौलिक पाठ्यपुस्तक बनाएर पनि पढाउन सक्छन् ।
यी दुवै विकल्पबाहेक तेस्रो विकल्पका रूपमा संस्कृत भाषाको पाठ्यपुस्तक पढाइने व्यवस्था गरिएको हो । त्यसैले संस्कृतका पक्षमा र विपक्षमा आफ्ना धारणा व्यक्त गर्नेहरूले पाठ्यक्रममा भएको यस किसिमको वैकल्पिक वा ऐच्छिक विषयको व्यवस्थालाई अनिवार्य नै हो भन्ने ठानेर राजनीतिक रूपमा आफ्ना धारणाहरू व्यक्त गरी जनताहरूमा भ्रम नफैलाइदिनु नै उपयुक्त हुनेछ ।
संस्कृतको उच्चशिक्षामा आन्तरिक राजनीति :
संस्कृत शिक्षामाथि बाह्य राजनीतिको त गम्भीर प्रभाव परिरहेकै छ । यसका साथै आन्तरिक राजनीतिले पनि संस्कृत शिक्षा थलिँदै गएको अनुभूति संस्कृतप्रेमीहरूले गर्दै आएका छन् । नेपालमा संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्ने उद्देश्यले २०४३ सालमा स्थापना भई सञ्चालन हुँदै आएको नेपाल संस्कृत विश्वविद्यालय २०४६/०४७ सालको आन्दोलनपश्चात् आन्तरिक राजनीतिमा फस्दै जान थालेको हो भने २०६२/०६३ सालको आन्दोलनपछि चरम राजनीतिक भागबण्डाका कारण गम्भीर रूपमा थलिँदै आएको छ ।
विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिमै राजनीतिक भागबण्डाले बढ्ता प्रश्रय पाउन थालेपछि विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा क्याम्पस प्रमुख, विभागाध्यक्ष, छात्रावास सुपरीवेक्षकलगायत सबैजसो पदमा राजनीतिक भागबण्डाकै दुष्प्रवृत्ति मौलाउँदै गएको छ । प्रत्येक शिक्षक र कर्मचारीहरू कुनै न कुनै राजनीतिक दलको सदस्य भएर पेसागत वर्गीय राजनीति नगर्ने हो भने बढुवा नहुने हो वा आफूले नचाहेका ठाउँमा अपर्झट सरुवा पो भइदिने हो कि भन्ने सन्त्रासमा बाँच्न विवश छन् ।
जसका कारण प्राज्ञिक पक्ष र विश्वविद्यालयको दीर्घकालीन भविष्य ओझेलमा पर्दै गएको छ । दुईदशक बितिसक्ता पनि नयाँ पाठ्यक्रम विकसित गर्ने र संशोधन गर्ने तथा एकदशक बितिसक्ता पनि प्रत्येक वर्ष गरिनुपर्ने दीक्षान्त समारोह हुन सकेको छैन । सबैजसो क्याम्पसमा क्याम्पस प्रमुखको सावधिक नियुक्ति हुन नसक्ता कामचलाउ नियुक्तिकै भरमा क्याम्पसहरू सञ्चालन भएका छन् भने दुईतिहाइ बहुमतको सरकारले एकवर्षसम्म विश्वविद्यालयमा पदाधिकारीहरू रिक्त हुँदा पनि नयाँ पदाधिकारीहरूको नियुक्ति गर्न सकेको छैन ।
यी र यस्तै कतिपय समस्याहरू निम्तिनुमा सरकारको राजनीतिक हस्तक्षेप र विश्वविद्यालयभित्र सेवारत शिक्षक एवं कर्मचारीहरू प्राज्ञिक क्रियाकलापमा भन्दा राजनीतिक क्रियाकलापमा बढ्ता संलग्न रहनु नै मूल कारण मान्न सकिन्छ ।
जबसम्म संस्कृत विश्वविद्यालयमा कार्यरत हामी शिक्षक तथा कर्मचारीहरूले कुनै पनि राजनीतिक दलबाट आफूलाई पृथक् राख्न सक्तैनौँ र विश्वविद्यालयजस्तो विशुद्ध प्राज्ञिक क्षेत्रमा सरकारले गर्दै आएको राजनीतिक हस्तक्षेपलाई हामीले समर्थन गरिरहन्छौँ तबसम्म हामी व्यक्ति स्वयंको, समग्र विश्वविद्यालयको र संस्कृत विश्वविद्यालयलाई आफ्नो अभिभावक ठान्ने सम्बद्ध सबै पक्षको भावनालाई सम्मान गर्न सक्ने छैनौँ ।
संस्कृत किन पढ्ने ?
नेपालमा बेलिने अधिकांश भाषाहरूको आदिस्रोत संस्कृत भाषा भएका कारण हरेक भाषाले आफ्नो तत्सम र तद्भव शब्दहरूको भण्डार समृद्ध बनाउन मात्र होइन नेपाली र संस्कृतस्रोतका अन्य मातृभाषाहरूको लेख्य भाषालाई स्तरीयता प्रदान गर्न पनि संस्कृतको प्रारम्भिक ज्ञान हुनु आवश्यक छ । नेपालका सबैजसो नेपाली शिक्षकहरूले सन्देहरहित भएर नेपाली भाषा–व्याकरणको शिक्षण गर्न पनि संस्कृत पढ्नु आवश्यक छ ।
वर्तमान नेपालका सबैजसो सरकारी कार्यालय, सञ्चार माध्यम, विभिन्न सङ्घसंस्थाहरूका लिखित सामग्रीहरूमा बढ्दै गएको अशुद्धिलाई निराकरण गर्न संस्कृतको आधारभूत ज्ञान लिनुपर्छ । नेपालका अधिकांश प्राचीन अभिलेखहरू संस्कृत भाषामै लेखिएकाले तिनको अध्ययन र अनुसन्धान गरी नेपालको ऐतिहासिक महत्त्वबोध गर्न संस्कृतको अध्ययन गर्नु जरुरी छ ।
नेपालमा हजारौँ जडिबुटीहरू छन् र नेपालमा आयुर्वेदको अध्ययनलाई व्यवस्थित रूपमा अघि बढाउन पनि संस्कृत नपढी हुँदैन । विज्ञान र प्रविधिले भित्र्याउने नयाँ नयाँ पारिभाषिक र प्राविधिक शब्दहरूको नेपालीकरण गर्न पनि संस्कृतकै ज्ञान सहायक सिद्ध हुन्छ । वर्तमान विज्ञानप्रधान युगमा विज्ञान पढ्न नपाएकामा पछुताउने व्यक्ति कमै होलान् तर संस्कृत पढ्न नपाएकामा जीवनको उत्तरार्द्धमा गएर पछुताउने व्यक्तिहरू धेरै छन् र तिनबाट प्रेरणा लिएर विद्यालय तहदेखि नै संस्कृत पढ्नुको औचित्य हाम्रा बालबालिकालाई स्पष्ट पार्दै जानुपर्छ ।
संस्कृत बाहुन बचाउन होइन संसारका सबै प्राणीलाई बचाउन र ‘वसुधैव कुटुम्बकम्’को भावना जागृत गर्न संस्कृत पढ्नुपर्छ भन्ने जनचेतना जगाउनु जरुरी छ ।
अङ्ग्रेजीले हाम्रो नेपाली भाषा र नेपालका धेरैजसो मातृभाषाहरूलाई निकै कमजोर बनाएको छ भन्ने बुझ्दाबुझ्दै पनि अङ्ग्रेजी भाषालाई अनिवार्य गर्दा हामीले यसको पूर्ण समर्थन गर्छौं तर हाम्रा धेरैजसो मातृभाषालाई धाईआमाले झैँ संस्कृतले मद्दत पुऱ्याउने थाहा पाएर पनि संस्कृतलाई ऐच्छिक विषयका रूपमा पाठ्यक्रममा राख्न खोज्दा विरोधका स्वरहरू चर्को बनाउनु भनेको हामीले हाम्रै महत्त्व नबुझ्नु हो ।
बैठान :
हामी अधिकांश नेपालीहरू वास्तवमा कवि भूपी शेरचनले भने झैँ क्यारेमबोर्डका गोटीजस्तै अज्ञात स्टाइगरद्वारा परिचालित छौँ र अरूकै उक्साहटमा आफ्नै खुट्टामाथि आफैले बन्चरो प्रहार गरिरहेको पत्तै पाइरहेका हुँदैनौँ । त्यसैले हामीलाई स्टाइगरको राजनीतिक खेल मनपर्छ तर हामी सधैँ यस्तो खेल खेलिरहन सक्तैनौँ किनभने राजनीतिक खेल वा विरोधले अरूको मात्र कुभलो गर्दैन आफ्नै पनि बढ्ता विनाश गर्छ भन्ने कुरामा यथासमयमै हाम्रो ध्यान आकृष्ट हुनु जरुरी छ ।
लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।
लेखकका थप लेख: