५ आश्विन २०८१, शनिबार

कोरोना सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा

प्रकाशित मिति :  29 August, 2020 8:28 am


चितवन, १३ भदौ ।

चितवनको भरतपुर अस्पतालमा गोरखाकी कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।

गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए ।

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए । डा. सापकोटाले कोरोना सङ्क्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए ।

भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक भएको उनले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !