७ मंसिर २०८१, शुक्रबार

होम आइसोलेशनलाई सकारात्मक र सिर्जनशील बनाउनुहोस् : डा. प्रकाश पौडेल [ अन्तरवार्ता ]

प्रकाशित मिति :  1 September, 2020 7:32 am


अठोट

शब्दहरुलाई सिलाएर माला बनाउनेछु ,

औंलाहरुलाई मिलाएर पैताला बनाउनेछु।

एकदिन त यो दुनियांले अवस्य पत्याउनेछ,

म काला रातहरुलाई उज्याला बनाउनेछु ।

माथिका यी हरफहरु डा. प्रकाश पौडेलका हुन् । पहिलैदेखि साहित्यमा झुकाव राख्दै आएका उनले  धेरै गीत,गजल र मुक्तकहरु लेखेका छन्  जसमध्ये केही गीत अहिले रेकर्डिङ हुँदैछन्।  पर्वतको कुश्मा नगरपालिका १४ मा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका डा.पौडेल नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालका उप–प्रध्यापक सर्जन (General and Laparoscopic ) हुन् ।

शिक्षण अस्पताल महाराजगन्जबाट स्नातकोत्तर गरेका डा. पौडेल एक दशकदेखि स्वास्थ्य क्षेत्रमै क्रियाशील छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वभर नै माहामारीको रुप लिँदा नेपाल पनि अछुतो बन्न सकेन् जसको कारण अहिले नेपालमा दिन प्रतिदिन कोरोना भाइरस कोभिड–१९को संक्रमण बढ्दो गतिमा छ । कोरोना संक्रमणको अत्यन्तै जोखिम अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी नै हुन् ।

यसर्थ रात दिन नभनीे उपचारमा खटिएका डा.पौडेल पनि कोरोना भाइरसबाट संक्रमित बन्न पुगे । १४ दिनको होम आइसोलेसनपछि उनी कोरोना भाइरसको संक्रमणबाट निको भैसकेका छन् । अघिल्लो हप्ता कोरोनाबाट मुक्त भएका उनै डा.पौडेलसँग आइसोलेसनको बसाइ र संक्रमण पछिको अवस्थाका बारेमा लुम्बिनी सञ्चार डट.कम.का लागिअम्बिका शर्माले गरेको कुराकानीको :

आफै चिकित्सक हुनुहुन्छ । कोभिड—१९ पोजेटिभ देखिएपछि तपाईंका मनमा कस्ता कुरा खेले ?

जब कोभिड—१९ सुरु भयो त्यतिबेला नयाँ रोग, नयाँ भाइरस भनेर आइराथ्यो । हामीलाई नि खासै ज्ञान थिएन । पछि थाहा भयो । बुझ्दै गइयो र नेपालमा देखिन थालेपछि हामीलाई पनि एक दिन त पक्कै लाग्छ भन्ने थियो नै ।

पूर्वअनुमान र तयारी भएकोले तनाव भएन । परिवारका अन्य सदस्यलाई पनि सर्छ कि भन्ने विषयमा चाहिँ विशेष सजगता र सर्तकता सुरुदेखि नै थियो । आफूलाई लागेपछि पनि अरुलाई सर्न नदिने विषय महत्वपूर्ण भयो । तसर्थ सावधानी र सर्तकता अपनाएर सामाजिक दुरी कायम गरेर परिवारलाई पनि सर्नबाट बचाउन सकेकोमा चाही बढी खुशी महशुस भएको छ ।

आइसोलेसनमा बसेपछिको तपाइको दैनिकी कस्तो बित्यो?

म पहिलेदेखि नै साहित्य, गीत तथा संगीतमा रुचि राख्ने व्यक्ति हो । प्रकाशनमा नआए पनि धेरै गीत,कविता लेखेको छु । यस मध्ये दुईवटा गीत रेर्कडिङको तयारीमा छु । त्यसैले गीत सिर्जनामा संलग्न संगीतकर्मी साथीहरुको सरसल्लाहमा पनि समय बित्यो ।

आइसोलेसनको बीचमा पनि २० वटा जति गीत गजल लेखेको छु । अहिले साथीहरुले केही गीतमा संगीत भर्ने काम थालिसक्नु भएको छ । उक्त गीत एक दुई महिनामा तपाई समक्ष आइपुग्ने छन् ।

अरुको सुनेको र आफूले भोगेको अनुभवलाई कसरी तुलना गर्नुहुन्छ ?

डर चिन्ता हुनु त स्वभाविक नै हो । सम्पूर्ण विश्व त्रसित र ठप्प छ । तसर्थ यसका केही अंश त म सम्मपनि अवश्य आयो तर धेरै होइन । तनाव बढि हुने प्रमुख कुरा नकरात्मक सोँच हो । त्यसैले नकरात्मकता बढाउने खालको लेख समाचार नहेर्ने,नसुन्ने कोशिस गरेँ । आफू आइसोलेशनमा बस्दा कसैलाई जानकारी गराइन र कसैले सोधिहालेमा अत्यन्त सहज र स्वभाविक तरिकाले कुरा गरे । आइसोलेसनको १४ दिन बसाइ चाहिँ गीत, कविता लेख्नको लागि विदामा बसेजस्तो महशुस भयो ।

तपाइको परिवारको साथ, सहयोग र उहाँहरुको मानसिकतालाई कसरी चित्रण गर्नुहुन्छ ?

सुरुमा चै आफैंलाई लागिसकेपछि सबभन्दा चिन्ता बुवाआमा,श्रीमती र बच्चाहरुलाई पनि लाग्यो कि भन्ने थियो । सुरुको ४/५ दिन मलाई पनि उहाँहरुलाई पनि तनाव भयो ।

पाँच दिनपछि परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि धेरै हल्का महशुस भयो । बाँकी सबै जना एक अर्का सँंग घुलमिल हुन मिल्ने भयो । घरमै रुममा आइसोलेशनमा बसेपछि चाहिँ घरपरिवारबाट मिल्ने हौसला, सहयोग मनोबल बढाउने कुरा त स्वभाविक नै हुन्छ ।

अर्को कुरा आइसोलेसन भनेको परिवारसँग सम्पर्कदेखि टाढा बस्नु हो । त्यही भएर हामीले एक अर्कासँग गफ गर्न पनि खोजेनौ । बोल्दा, हाच्छिउँ गर्दा पनि सर्ने रोग भएकोले हामीले चिया खाजा दिने समयमा मात्र ढोका खोल्ने गर्यौँ। त्यहिबेला परैबाट इसाराले ठिक छ भनेर बोल्ने बाहेक शब्द निकालेर पनि बोलेनौँ ।

अलिक भावुक भइदो रहेछ हो ? कविता पनि लेख्नु भएको छ ।

त्यस्तो चाहिँ भएन । रोग एक दिन लाग्छ भन्ने पूर्व तयारीका साथ बसेको हुनाले यो समयलाई भावुक भन्दा पनि सिर्जनशिल कुरामा खर्चिएँ । त्यसैकारण कविता गीत लेखेर समयको सदुपयोग गरे । ४/५ वटा पुस्तक पनि पढिसकें । यसको साथै केही सुन्ने मौका नपाएका राम्रा गीतहरु पनि सुने ।

आइसोलसनमा तपाइप्रति गरिएको व्यवहार र कोरोना जितेर फर्कँदाको अनुभूति बताइदिनुहोस् ।

म होम आइसोलेसनमा बसेँ । त्यसकारण परिवारको माया सहयोग हौसलात्मक सहयोग त भइनैरह्यो । अस्पतालका सहकर्मीबाट पनि दैनिकजसो शुभकामना र प्रेरणा पाइरहे । बाँकी साथीभाइ आफन्तलाई पछि मात्र थाहा भयो । यो समयमा साथीभाई आफन्तजनको बोली र हौसलाले छुट्टै उर्जा मिल्ने हुनाले औषधीकै रुपमा काम गरेका अनुभूति भयो ।

आइसोलेनमा खानपान र औषधि के कस्ता र कसरी लिनुभयो ?

सबभन्दा यो रोगसँग लड्ने भनेको आत्मविश्वास हो । अर्को शरीरको रोग प्रतिरक्षा प्रणाली हो । प्रतिरक्षा प्रणाली बढाउन हाम्रो प्रकृतिले नै दिएको हुन्छ । जसमा शरीर भित्र प्रतिरक्षाको रुपमा काम गर्ने तत्वहरु हुन्छ । मैले दैनिक खाने साधारण खाना र फलफूलहरु नै खाए । शरीरको प्रतिरक्षा प्रणाली कम गर्ने कुराहरु जस्तैः चिया कफी जंक फुडहरु खानु हुँदैन ।

अर्को महत्वपूर्ण कुरा भनेको शारीरिक व्यायाम हो । मानिसहरुले व्यायामलाई त्यति वास्ता गरेको देखिंदैन हामीले खाएको खाना शरीरले लिन र शरीरको प्रतिरक्षा प्रणालीलाई सहयोग गर्न व्यायाम चाहिन्छ । हरेक दिन बिहान २ घण्टा दिउँसो १ घण्टा र साँझ २ घण्टा पसिना आउन्जेल व्यायाम गरे ।

 कोरोनाबाट जोगिन र लागिसकेकाका लागि कस्ता सुझाव दिन चाहनुहुन्छ ?

जसलाई कोरोना लागेजस्तो छ वा लागिनै सक्यो भने तुरुन्तै डाक्टरसँग भेटिहाल्ने । डाक्टरलाई नै विचार गर्न दिनुहोस् । साथीभाई छरछिमेकसँग सोध्ने सल्लाह लिने काम नगर्ने ।

यसो गर्दा हल्लाखल्ला धेरै हुन्छ । धेरै फोन म्यासेजहरु आउँछ अनि आफूलाई तनाव बढि हुने हुनाले सम्पर्कमा भएका व्यक्तिलाई मात्र भन्ने गर्नुपर्छ । विहान बेलुका ध्यान योगा गर्ने, सकरात्मक सोच्ने, सिर्जनशिल कार्यमा लाग्ने पत्रपत्रिका, टेलिभिजन, मोबाइलमा आफूलाई असर गर्ने नकारात्मक समाचार, लेखहरु नपढ्ने । अन्त्यमा सबभन्दा आफ्नो आत्मबल बलियो बनाउनु भयो भने कोरोनालाई हराउन सक्षम हुनुहुनेछ ।

 यो कोरोना भाइरस साँचैै डरलाग्दो हो कि अनावश्यक त्रास मात्र फैलाइएको हो , यति धेरै डराउनु आवश्यक छ ?

यसलाई यसरी बुझ्दा राम्रो होला, आफूलाई नलागुन्जेल डराएको राम्रो किनकि त्यहि डरले गर्दा बढी सतर्क भइन्छ र संक्रमणबाट बचिन्छ । तर लागि हाल्यो भने चाँही अनावश्यक डराउनु हुँदैन किनकि दह्रो आत्मबलले नै यो भाइरससँग लड्न सकिन्छ ।

अन्त्यमाः म आइसोलेशनमा बस्दा लेखेका गीतमा संगीत भरिएर चाँडै आउनेछन् सुनिदिनुहोला । आफूमा सकरात्मक उर्जाको विकास गर्दै अरुलाई पनि सघाउनु होला । सकरात्मक सोँचले नै सकरात्मक परिणाम ल्याउने पहिलो कदम हो । र आइसोलेसन बस्दा लेखेको कविता छ :

“आइसोलेशन” का दिनहरु

पहिलो दिन मरिन्न्छ कि भनेर बित्यो
दोस्रो दिन मरिन्न्न कि भनेर बित्यो ।।
एक दिन बाँचिन्न कि भनेर बित्यो
अर्को दिन अब बाँचिन्छ कि भनेर बित्यो ।।
एक दिन दुनियाँका रङहरु हेरेर बित्यो
अर्को नमिठा सोचहरु फेरेर बित्यो ।।
केहि दिनहरु दिन गनेरै बिते
केहि अब गन्दिन भनेरै बिते ।।
दिन गन्दा गन्दै एक नयाँ दुनियाँ देखियो ,
एकान्त कक्षमै आफूभित्रको
“म” सँग भेटियो ।
आफैलाई लागेपछि मरिन्छ कि
भन्ने त लाग्दो रैछ,
तर आत्मबलले नै यो भाइरसलाई
पछार्दो रैछ्र
जब पुर्ण मुक्तिको खबर हेरेर निस्किए ,
लाग्छ एउटा जुनी नै फेरेर निस्किए ,
डर त्रास सबैलाई परास्त गरेर निस्किए ।

कोरोना युद्ध जितेर- डा.प्रकाश पौडेल

 



प्रतिक्रिया दिनुहोस !