१२ कार्तिक २०८१, सोमबार

निजी अस्पतालले समन्वय नगर्दा चितवनमा आइसीयू-भेन्टिलेटर नपाएरै ३ जना संक्रमितको ज्यान गयो

प्रकाशित मिति :  1 September, 2020 1:45 pm


काठमाडौं,१६ भदौ । 

चितवनको भरतपुर महानगरपालिका-११ का ६५ वर्षीया पुरुष हिजो १ बजेतिर एउटा नीजि अस्पतालबाट भरतपुर अस्पताल पुगे । निजी अस्पतालले उनलाई कोभिड परीक्षणका लागि भन्दै भरतपुर अस्पताल पठाएको थियो ।

खैरेनी–१३ की ५५ वर्षीय महिलालाई दुइदिनको उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्या थियो । उनलाई हिजै ७ बजेतिर भरपुर अस्पतालको आकस्मिक विभागमा पुराइयो । चितवनकै भरतपुर महानगरपालिकाकी १८ वर्षीय युवतीलाई श्वासप्रश्वासमा गम्भीर कठिनाई भएको भन्दै निजी अस्पतालले भरतपुर अस्पताल लगियो ।

कोरोनाको उपचार गरिरहेको भरतपुर अस्पताल पुगेका तीनै जना जटिल अवस्थाका विरामीका लागि आइसीयू बेड थिएन भने भेन्टिलेटरपनि खाली थिएन ।

अस्पतालले आज निकालेको आफ्नो विज्ञप्तिमा ,“तत्कालै आइसीयू भेन्टिलेटर मा राखी उपचार गर्नुपर्ने तीनै जनालाई यस अस्पतालमा आइसीयू बेड र भेन्टिलेटर खाली नभएको र अन्यत्र समन्वय गर्दा कुनैपनि अस्पतालमा खाली नभएको भन्ने जानकारी प्राप्त भएपछि यसै अस्पतालमा उपलब्ध सधान र जनशक्ति मार्फत आकस्मिक कक्षामै उपचारको लागि हदैसम्मको प्रयास गर्दा गर्दै‘ तीन जनाको निधन भएको उल्लेख छ ।

अस्पतालका अनुसार ३ घण्टाको बीचमा तीन जनाको ज्यान गयो । परीक्षणका क्रममा तीन जनामा कोरोना संक्रमणको पुष्टि भयो । कोरोना संक्रमणको आशंका हुँदापनि निजी अस्पतालले समन्वय नगरेको भन्दै अस्पतालले असन्तुष्टि जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीन्टेन्डेन्ट डा. जगननाथ तिवारीले यस्ता गम्भीर प्रकृतिका बिरामीहरु एउटा अस्पतालमा उपचारमा रहेको बेला विना जानकारी अन्यत्र पठाउँदा जोखिम हुने भन्दै सचेत गराएका छन् ।  उनले आगामी दिनमा प्रभावकारी समन्वय पश्चात मात्र बिरामी रेफर गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्,“ यस्ता गम्भीर प्रकृतिका बिरामीहरु एउटा अस्पतालमा उपचारमा रहेको अवस्थामा बिना जानकारी अन्यत्र रेफर गर्दा बिरामीले समयमै उपचार नपाउन’का साथै अनावश्यक दुःख पाउने र बिरामीको ज्यान समेत जान सक्ने अवस्थालाई मध्य नजर गर्दै आगमी दिनमा प्रभावकारी समन्वय पश्चात मात्र विरामी रेफर गरिदिनु हुन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अनुरोध छ ।”

यस्तो समस्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत समेत गराइसकेको छ । समन्वय गर्न,विरामीसँग स्वास्थ्यकर्मी पठाउन र सुरक्षित रुपमा विरामीलाई कोभिड अस्पताल पुराउन मन्त्रालयले भनिसकेको छ । लापरवाही गरे त्यसको जिम्मेबार सम्बन्धित अस्पताल हुने मन्त्रालयको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस !