५ आश्विन २०८१, शनिबार

संकटका बेला एअर अरेबियाको बदमासी, तत्काल यात्रुको रकम फिर्ता गर्न सरकारको निर्देशन

प्रकाशित मिति :  2 September, 2020 6:26 pm


काठमाडौं,१७ भदौ । 

सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

२५ अगष्टमा युएईको सारजाहबाट काठमाडौ आएका १४२ यात्रुको होटेल क्वारेनटाइन बापतको रकम फिर्ता गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

एयर अरेबियाले यात्रु ल्याएर होटल क्वारेन्टाइनमा राखेबापतको रकम उठाएको तर पछि यात्रुले नै तिर्नुपरेको गुनासो आएपछि फिर्ता गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयमा आज नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले यात्रुको रकम फिर्ता गराएर सचेत गराउन सम्बन्धित निकायलाई भनिएको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासो आएपछि मन्त्रालयले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !