३ आश्विन २०८१, बिहिबार

बागलुङको ढोरपाटन नगरपालिकामा पहिरोले १३ जना बेपत्ता,४ जनाको शव भेटियो

प्रकाशित मिति :  3 September, 2020 9:09 am


बागलुङ ,१८ भदौ ।

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा १३ जना बेपत्ता भएका छन् । ४ जनाको शव भेटिएको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण बेपत्ता भएका १७ जना मध्य ४ जनाको शव भेटिएको हो ।

बेपत्ता भएका मध्य ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०र३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०र३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए ।

त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०र२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२र१३ का पुरूषको शव फेला परेको भण्डारीले बताए । शवको सनाखत हुन सकेको छैन । बेपत्ताहरुको खोजी भैरहेको राससले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !