३ आश्विन २०८१, बिहिबार

एनआरएनका पूर्व अध्यक्ष भट्टको मिडियामा पत्रकार आन्दोलित,श्रम अदालतदेखि आमरण अनसनसम्म

प्रकाशित मिति :  3 September, 2020 12:53 pm


काठमाडौं ,१८ भदौ ।

गैर आवासीय नपाली संघका पूर्व अध्यक्ष भवन भट्टले सञ्चालन गरेको ‘कारोबार दैनिक’मा पत्रकारहरु आन्दोलित भएको छन् ।

तीन वर्षअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पत्रकारहरु सत्याग्रहसहितको आन्दोलन घोषणा गरेका छन् भने लकडाउनकै बेला निकालिएका एक पत्रकार श्रमले श्रम अदालतमा मुद्धा दायर गरेका छन् ।

कारोबार पत्रकार तथा कर्मचारी संघले आफ्नो मागमा भनेको छ,“श्रमजीवी पत्रकार तथा कर्मचारीलाई बाँधा श्रमिक झैं व्यवहार हुँदा समेत लागू गर्न नसकिएको श्रमजीवी पत्रकारसम्बन्धी श्रमजीवी पत्रकार ऐन खारेज गर वा कारोबार दैनिकले २०७३ मा त्यसअघिको क्षतिपूर्ति तिरेर गरेको श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको प्रतिवद्धता र आफैले तयार गरेको विनियामली अनुसार व्यवहार नगरेर कोरोना कालमा पत्रकार तथा कर्मचारीको रोजागारीको अधिकार खोस्ने, श्रमशोषण गर्ने, दुव्र्यवहार गर्ने, मानसिक तनाव दिने काम बन्द गर ।”

नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सचिव समेत रहेका धर्मेन्द्र कर्णले आमरण अनसन गर्ने घोषणा गरेका छन् । कारोबार पत्रकार तथा कर्मचारी संघका संयोजक समेत रहेका कर्णले विज्ञप्ति जारी गर्दै अमरण अनसनसम्मको आन्दोलन घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म दिउँसो ३ देखि ६ बजेसम्म धर्ना र भदौ २७ गतेदेखि अनिश्चितकालीन सत्याग्रह घोषणा गरिएको छ ।

सघंले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ यसका लागि कारोबारकर्मीहरूले कारोबार दैनिकको परिसरमा धर्नाको कार्यक्रम राख्ने छन् । त्यसपछि सत्यको आग्रहका लागि सत्याग्रही आन्दोलनको उत्कर्षका लागि कारोबार पत्रकार तथा कर्मचारी संघको तर्फबाट कारोबार परिसरमा रिले अनसन र क्रमशः अन्त्यमा आमरण बस्ने निर्णय गरेका छौं । ”

यस्तै लकडाउनका बेला जर्वजस्ति निकालिएको भन्दै कारोबार दैनिककै पत्रकार विजय देवकोटा श्रम अदालत गएका छन् । उनले आफूलाई नियम विपरित निकालेको भन्दै अदालतमा केहीदिन अघि मुद्धा दर्ता गरेका हुन् ।

लकडाउनका बेला सञ्चारगृहले पत्रकारहरुलाई जर्वजस्ति निकालेपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको थियो । महासंघले घोषणा गरेको आन्दोलनलाई समर्थन र कारोबार दैनिक भित्रका समस्या समाधान गर्न माग गर्दै देवकोटाले नेपाल पत्रकार महासंघ कारोबार प्रष्तिठान शाखाको सचिवको हैसियतले विज्ञप्ति जारी गरेका थिए । तर, विज्ञप्ति जारी गरेपछि व्यवस्थापनले देवकोटालाई बर्खास्ति गरेको  थियो ।



प्रतिक्रिया दिनुहोस !