८ मंसिर २०८१, शनिबार

बर्दियाबाट चुनावमा पराजित बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सत्तारुढ नेकपाको निर्णय

प्रकाशित मिति :  3 September, 2020 7:26 pm


काठमाडौं ,१८ भदौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराएका हुन् ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान छ ।

यसअघि सिफारिशसहित नियुक्त भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र विमला पौडेल रहेका छन् । तीमध्ये डा. खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

गौतम प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दियाबाट पराजित भएका थिए । गोरखाबाट डा.बाबुराम भट्टराईसँग पराजित नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभा गएका छन् । श्रेष्ठलाई भने राष्ट्रियसभाको चुनावमा उमेदद्वार बनेर जितेका थिए ।



प्रतिक्रिया दिनुहोस !