३ आश्विन २०८१, बिहिबार

जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने प्रदेश-२ सरकारको निर्णय

प्रकाशित मिति :  4 September, 2020 4:46 pm


धनुषा ,१९ भदौ ।

प्रदेश २ सरकारले जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।

प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी)को आज बसेको बैठकले कोभिड संक्रमितको उपचारको लागि छुट्टै अस्पतालको रुपमा मणिपाललाई तयार गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने कार्य तत्काल शुरु गर्नको लागि समितिले भनेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कोभिड विशेष अस्पताल बनाउने उपयुक्त स्थान मणिपाल रहेकोले तत्काल तयारी प्रक्रिया अगाडी बढाउन निर्देशन दिए ।

प्रदेशमा कोभिड विशेष अस्पताल नहुँदा संक्रमितको उपचारमा समस्या हुँदै आएको छ । संक्रमितको व्यवस्थित तरिकाले उपचार गर्नको लागि तत्काल मणिपाललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्न सबै तयारी अगाडी बढाउनको लागि उनले निर्देशन दिए ।

भएको जनशक्तिलाई व्यवस्थापन गर्दै थप जनशक्ति लोक सेवा आयोगको मार्पत थप गर्ने प्रक्रिया अघि बढाउने जानकारी मुख्यमन्त्री राउतले दिएका छन् । हाल प्रदेशका कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल, जिल्ला अस्पतालहरुमा हुने गरेको छ । तर, त्यो दीर्घकालीन समाधान नरहेकोले तत्काल वैकल्पिक स्थलमध्ये मणिपाललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्ने निर्णय गरेको छ ।

कोभिड विशेष अस्पताल तयार गर्नको लागि आवश्यक श्रोतसाधन र जनशक्ती व्यवस्थापनको जिम्मा सम्बन्धित मन्त्रालयहरुलाई दिइएको छ ।
बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले २५ करोड रुपैयाँको कोष स्थापना गरेको थियो । रकमको आवश्यकक्ता महसुस गरेर १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।

कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्नको लागि प्रदेश सरकारले प्रयोगशाला र अस्पताल व्यवस्थापनमा जोड दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अव एक्सनमा आउनुपर्ने तर्क गरे । समाजिक विकास मन्त्री नवल किशोर साहले विगतको निर्णयहरु तत्काल कार्यान्वनय गर्नुपर्नेमा जोड दिए ।

यसै साता मात्रै सम्पन्न भएको महामारी नियन्त्रणका लागि चाल्नु पर्ने कदमहरु बारे संकलित सुझावहरु बैठकमा प्रस्तुत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !