४ आश्विन २०८१, शुक्रबार

विप्लव नेतृत्व नेकपाको कृषि मन्त्री भुसालमाथी प्रश्न,’किसानहरूको टाउकोमा गिर खेल्ने ?’

प्रकाशित मिति :  5 September, 2020 9:27 am


काठमाडौं,२० भदौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आमजनताका समस्याहरूप्रति सरकार उदासीन भएको भन्दै दिन–प्रतिदिन राष्ट्रघाती र जनघाती काम गर्दै गएको आरोप लगाएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले आज बिहान विज्ञप्ति जारी गर्दै राष्ट्रघाती काम गर्ने, देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही गर्न माग गरेका छन् । सरकारले कारबाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने प्रकाण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशमा मलको समस्याले किसानाहरू छट्पटाइरहेको बेला सरकारले भने भ्रष्टाचारी र बदनामहरूलाई नै मल खरिदको ठेक्का दिएको भन्दै प्रवक्ता प्रकाण्ड आपत्ति जनाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्,”किसानहरूको धानबाली असोजबाट पाक्न थाल्छ । भदौ तेस्रो सातासम्म किसानहरू मल अभावले छट्पटाइरहेका छन् । देशैभरिका जिल्लाहरूमा किसानहरू मलका निम्ति हजारौँको सङ्ख्यामा बिहानदेखि रातीसम्म पङ्तिबद्ध छन् । देशभरि मलको खोजीमा भौँतारिरहेका छन् तर आपूर्तिका निम्ति भनेर सरकारले ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली काङ्ग्रेसका नेताहरूका रक्षाकवच, शैलुङ कन्स्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होबिको मल्टिपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौँ पुल र सडकहरू बर्सौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकेदारहरू राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पत्तिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरू हुन् ।”

बोलकबोलअनुसार सम्बन्धित ठेकेदारहरूले मल आपूर्ति नगर्दा लाखौँलाख किसानको धानबाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार र कृषि मन्त्रालयले कारबाही मात्रै होइन सोधपुछ समेत नगरेको आरोप विज्ञप्तिमा छ ।

कृषि मन्त्री घनश्याम भुसालले बङ्गलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास भएको भनिरहेका बेला विप्लव नेतृत्वको नेकपाले भने यो कार्य यो कार्य घोर आपत्तिजनक, किसानहरूको बालीनाली माथिको खेलबाड भएको टिप्पणी गरेको छ ।

रेल ठेक्कामाथी प्रश्न

पूर्व–पश्चिम रेलमार्गको परियोजनाका नाममा भ्रष्टाचार भएको भन्दै प्रवक्ता प्रकाण्डले आपत्ति जनाएका छन् ।

काँकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालयअन्तर्गत रहेको रेल विभागले ३३ अर्बमाथिको ठेक्कामा लुटखसोट गर्ने काम भइरहेको भन्दै प्रकाण्डको विज्ञप्तिमा भनिएको छ, “मुआब्जा वितरण नगरी प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै आफ्नै राज्यको कानुनविपरीत यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, कथित सिन्डिकेटधारी ठेकेदार एवम् कम्पनी शर्मा एन्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामालगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिसनको खेल र सेटिङमा नेपाली जनताको सम्पत्ति लुटखसोट गर्ने डिजाइन गर्दा र सञ्चारमाध्यममा छताछुल्ल हुँदासमेत सरकार नसुनेझैँ गरिरहेको छ ।”

नेपाल वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार समेत माथ गर्ने रेल भ्रष्टाचार र कमिसनकाण्ड कुनै पनि मूल्यमा सैह्य नहुने कुरा प्रकाण्ड प्रवक्ताको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको नाममा गलत व्यक्तिले चन्दा उठाए

प्रकाण्डले आफ्नो पार्टीको लोकप्रियताको फाइदा उठाएर पार्टीका नाममा चन्दा सङ्कलन गर्ने काम बढेको भन्दै आफ्नो पार्टीको बदनाम गर्ने तत्वले यस्तो कार्य गरेको बताएका छन् ।

प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, “हाम्रो पार्टीको लोकप्रियता बढेपछि र पार्टी नेपाली जनताको आँखाको नानी बन्दै गएपछि पार्टीलाई बदनाम गर्न, पार्टीका नाममा चन्दाको आतङ्क मच्चाउने गुन्डा, लुटेरा, सुराकी, भगौडा र आपराधिक तत्वहरू ज्यान फालेर लागेको कुरा जनताले पार्टीलाई विविध माध्यमबाट जानकारी गराइरहेका छन् ।”

क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापारी–व्यवसायी एवम् कर्मचारी क्षेत्रसँग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्नेबाहेक चन्दाका नाममा आतङ्क मच्चाउने र जबर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको प्रवक्ता प्रकाण्डको भनाई छ ।

उनले भनेका छन्,”सहयोगदाता महानुभावहरूले पार्टीको आधिकारिकताबाहेक नठगिन र ठगहरूलाई पार्टीमा बुझाइदिन पार्टी विशेष अुनरोध गर्दछ । पार्टीले ठाउँको ठाउँ कारर्बाही गर्नेछ ।”



प्रतिक्रिया दिनुहोस !