५ आश्विन २०८१, शनिबार

निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रका उद्योगीहरुको प्रधानमन्त्रीलाई सुझाव

प्रकाशित मिति :  6 September, 2020 8:56 pm


काठमाडौं, २१ भदौ ।

निजी क्षेत्रका उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि छलफल आयोजना गरेका थिए । छलफका क्रममा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आफ्नो सहभागिता जनाएका थिए ।

प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै उनीहरुले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाइ चलायमान गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

छलफलमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र संबोधनको बारेमा आफ्नो स्पष्ट पारेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको भन्दै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा धेरै ठूलो क्षति भोग्नुपर्ने तर्फ सचेत गराएका थिए । उनले  अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको धारणा राखेका थिए ।

कोभिड -१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको उल्लेख गरे । काम गरेर खान नेपालमा समस्या नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण नरहेको भन्दै प्रधानमन्त्री ओलीले युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आव्हान गरेको प्रेस सल्लाहकार थापाले जानकारी गराएका छन् । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने प्रधानमन्त्री ओलीको तर्क थियो ।

कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाईरहेको सल्लाहकार थापाले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !