३ आश्विन २०८१, बिहिबार

कारोबारको आन्दोलनमा पत्रकार महासंघ र प्रेस यूनियनको ऐक्यावद्धता

प्रकाशित मिति :  8 September, 2020 10:40 am


काठमाडौं २३ भदौ । कारोबार पत्रकार तथा कर्मचारी संघको आह्वानमा भइरहेको धर्ना कार्यक्रमको दोस्रो दिन नेपाल पत्रकार महासंघको कारोबार प्रतिष्ठान शाखाका प्रतिष्ठानमा क्रियाशील सदस्यहरूले अबको कार्यक्रम महासंघ प्रतिष्ठान शाखाको अगुवाइमा अगाडि बढाउने निर्णय गरेका छन् ।

महासंघ प्रतिष्ठान शाखाका सदस्यहरूको यो निर्णयलाई संघका संयोजक धर्मेन्द्र कर्णले स्वागत गरेका छन् । कर्णले महासंघको प्रतिष्ठान शाखाका निवर्तमान अध्यक्ष विपेन्द्र कार्कीको नेतृत्वमा पत्रकार तथा कर्मचारीको आन्दोलन अगाडि बढ्नु खुशीको कुरो भएको बताए ।

आपसी छलफलका आधारमा यसअघि संघद्वारा गरिएका आन्दोलनका कार्यक्रम परिवर्तन गरिने र मागहरूलाई थप परिमार्जन गरिने आन्दोलनकारी पत्रकार तथा कर्मचारीले जनाएका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीको उपस्थितिमा महासंघका सदस्यहरूले यस्तो निर्णय गरेका हुन ।

महासंघका अध्यक्ष आफू आइसोेलेसनको अवधिमा रहेकाले तत्काल आफू उपस्थित हुन नसके पनि आगामी दिनमा भौतिक सहभागीता जनाउने बताएको कर्णले जानकारी दिए ।

पत्रकार तथा कर्मचारीले धर्ना दिएको दोस्रो दिन सोमबारको कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा महासंघका केन्द्रीय सदस्य जैसी, नेपाल प्रेस युनियन काठमाडौका अध्यक्ष जगन्नाथ दुलाल, कारोबारका संस्थापक अध्यक्ष लोकबहादुर चापागाइले कारोबारकर्मीको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका थिए ।

तीन वर्ष अघि भएको सम्झौता लागू गर्न र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गर्दै गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले सञ्चालन गरेको “कारोबार दैनिक” मा भदौ २१ गते देखि पत्रकारहरुले धर्ना सुरु गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !